सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

बैतडी– सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिश एवम् प्रदेशमार्फत सिफारिशबमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका विभिन्न स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको हो । 

सुदूरपश्चिमका सात स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको मन्त्रालयले  जनाएको छ । 

बैतडीको सिगास गाउँपालिकाको केन्द्र साविकको शिवलिङ्ग गाविसको गर्जे कायम गरिएको छ । यसअघि उक्त गाउँपालिकाको केन्द्र गर्जे अथवा गाँजरी राख्ने भन्ने निर्णय भएको थिएन । सबैलाई पायक पर्ने र बीच केन्द्र भएकाले गर्जेमा केन्द्र राख्ने निर्णय गरेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । 

दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र धुलिगडाबाट सारेर होपरीगाड र लेकम गाउँपालिकाको केन्द्र रातामाटा तोकिएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको केन्द्र सल्ला–बान्चौर कायम गरिएकोे छ । 

यस्तै, बझाङको काँडा गाउँपालिकाको नाम साइपाल, डोटीको वोगटान गाउँपालिकाको नाम वोगटान–फुड्सिल, सायल गाउँपालिकाको केन्द्र ओमनगर राखिएको छ । 

बाजुराको पाण्डवगुफा गाउँपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डी, स्वामीकार्तिक गाउँपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाइ, छेडेदह गाउँपालिकाको नाम खप्तड छेडेदह गाउँपालिका कायम गरिएको छ । हिमाली गाउँपालिकाको केन्द्र बाँधु धुलाचौर तोकिएको छ । 



सङ्घीय सरकारअन्तर्गतको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अगाडि देशका ९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो । हेरफेर गरिएको नाम तथा केन्द्रबाट कामकारवाही अगाडि बढाउनसमेत सरकारले निर्देशन दिएको छ । 



  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार ८:१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया