सीके राउतको आशंका :  राष्ट्रपतिको निर्वाचनपछि सत्ता गठबन्धनबाट एमाले बाहिरिनेछ, कांग्रेसको ‘इन्ट्री’ हुनेछ
मधेसीलाई जबर्जस्ती फसाउने र हेप्ने काम गरिए देशमा ठूलो विद्रोह हुने चेतावनी

जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले राष्ट्रपतिको निर्वाचनपश्चात् देश नयाँ कोर्समा जान सक्ने आशंका व्यक्त गरेका छन् । अध्यक्ष डाक्टर राउतले राष्ट्रपतिको निर्वाचनपश्चात्  देशमा नयाँ सरकार बन्ने दाबी गरेका हुन् । 

उनले राष्ट्रपतिको निर्वाचनपश्चात् देशको समग्र राजनीतिक परिस्थिति बदलिन सक्ने बताउँदै वर्तमान सत्ता गठबन्धन भत्किने दाबीसमेत गरे । अध्यक्ष राउतले सत्ता गठबन्धनबाट एमाले बाहिरिने तथा कांग्रेसको इन्ट्री हुने र केही महिनासम्म प्रधानमन्त्री प्रचण्ड नै रहने बताए । 

राउतले नयाँ पूराना सबै दलहरु मिलेर मधेसी, थारु, मुस्लिम, आदिवासी जनजातिलाई भित्तामा पुर्‍याएकोले अब सबैलाई एकजुट हुनुपर्ने आवश्यकता रहेकोसमेत बताए । उनले भने, ‘अहिलेको जस्तो चरम विभेद जारी रहे र प्रतिगामी दिशामा देश अगाडी बढ्दै गयो भने मधेसमा फेरि निर्णायक आन्दोलन हुन्छ । थारु र मधेसीहरू एक भएर आन्दोलन गर्छन् । अब भीषण र निर्णायक आन्दोलन हुन्छ ।’

राउतले रेशम चौधरीलगायत मधेस आन्दोलनका साथीहरु रिहा नभए र मधेसीलाई यसरी जर्बजस्ती फसाउने र हेप्ने काम गरिए देशमा ठूलो विद्रोह हुने चेतावनीसमेत दिएका छन् । अर्को प्रसंगमा बोल्दै अध्यक्ष राउतले मधेस आन्दोलनको जगमा उठेका नेताहरुले संघीयताको रक्षा गरेको दाबी गरे । 

‘मधेस केन्द्रित दलहरूले देशमा पहिलो राष्ट्रपति पनि बनाए । समानुपातिक समावेशिताको धारणा आयो । अरुले त त्यो पनि गरेनन्,’उनले भने, ‘मधेस आन्दोलनमा उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द महतोलगायत हाम्रा सम्पूर्ण अग्रज नेताहरूको महत्त्वपूर्ण भूमिका छ । वहाँहरू सबैको आ–आफ्नो योगदान छ । वहाँहरूले जति योगदान गर्नुपर्ने त्यति गर्नुभयो । अब हाम्रो पालो छ ।’

राउतले मधेसमा विकास गर्न नदिन केन्द्र सरकार बाधक बनेको आरोप लगाएका छन् । ‘प्रहरी समायोजन ऐन पनि ल्याउन दिइएको छैन । काम गर्न दिएको छैन । एउटा सिडिओलाई बसाएर मुख्यमन्त्रीभन्दा पनि ठूलो अधिकार दिएर राखेको छ । त्यसैले काम गर्न दिने वातावरण नै छैन ।’



राउतले संघीयतालाई गाली गर्दै हिँड्ने अधिकार कसैसँग नरहेको बताउँदै संघीयता देशका लागि अभिशाप नभई यो देशका शासकहरू संघीयताका लागि अभिशाप बनेको आरोप लगाए ।  

उनले भने, ‘साढे दुई सय वर्षसम्म शासन गरेर खसहरुले यो देशलाई लुटेका छन् । देश लुट्नेहरूको ठूलो इतिहास छ । नेपाल बनाउने भनेको गोपालवंशी महिसपालवंशी मधेसीहरुले हो । यो देशको स्वर्णीमकाल लिच्छवीकाललाई भनिन्छ र ती लिच्छवीहरु मधेसबाट आएका मधेसी थिए । मधेसीहरुले यो देशलाई स्वर्णिम युगसम्म पुर्याएपनि खसहरुले कब्जा गरेको दिनदेखि देशको पतन सुरु भयो र, अहिलेसम्म पनि जारी रहेको छ ।’ 



संसद बैठकमा बोल्दै राउत

राउतले खसआर्यबाट अब यो देश नचल्ने भएकाले अब फेरि मधेसीको जिम्मा लगाउनुपर्ने तथा मधेसीले देश चलाएर हेराउने दाबीसमेत गरे । ‘केपी ओली, शेरबहादुर र पुष्पकमल दाहालहरू पटक पटक असफल साबित भइसकेका पात्रहरू हुन् । यिनीहरूले देखाउन नै के बाँकी छ र?, उनले भने, ‘राष्ट्रिय सहमति भन्ने शब्द समस्या समाधान गर्न, देशलाई निकास दिन, गरिबी हटाउन अथवा देश विकास गर्नका लागि नभई पदीय भागबण्डाका लागि राष्ट्रिय सहमतिको राग अलापिएको छ ।’

बिहीबार मधेस आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न आफूले संसदमा आग्रह गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत अन्य धेरै जना नेताहरु आ–आफ्नो स्थानबाट नउठेकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘मधेस आन्दोलनका शहीदहरूलाई सम्मान प्रकट गर्नका लागि प्रधानमन्त्री प्रचण्डलगायतका धेरै जना आफ्नो स्थानबाट उठ्न सक्नु भएन । अवस्था यस्तो छ । वहाँलगायत धेरैको चरित्रको नांगो पर्दाफास संसदभित्रै भयो । कसले मधेसीलाई कति सम्मान गर्छन् भन्ने कुरा अब रेकर्डमा रहन्छ । जनताले सबै थोक नियालिरहेका छन् । अब पहिला जस्तो अवस्था छैन । जनता अब आफ्नो अधिकारका लागि जुनसुकै हदसम्म तयार हुन सक्छन् ।’

केही नेताहरूप्रति इंगित गर्दै उनले भने, ‘अब पहिलाको जस्तो अवस्था छैन । यिनीहरूले जे गर्दा पनि हुने खालको जुन अहङ्कार पालेका छन् त्यो सबै अब हुने आन्दोलनले सबैलाई उखेलेर समग्र आनुवंशिक व्यवस्था परिवर्तन हुनसक्छ ।’ 

  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार १६:२५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया