मधेसमा एक/दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार गरिने
एमाले ४, जसपा ३, जनमत २ र माओवादीले १ मन्त्रालय पाउने

मधेस प्रदेश सरकारको सत्ता साझेदार दलहरु मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाउन छलफलमा जुटेका छन् । सत्ता साझेदार दलहरुको छलफलबाट एक/दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । 

मधेस सरकारमा जनता समाजवादी पार्टी, नेकपा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले सत्ता साझेदारी गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गरेको दुई साता बितिसक्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन । 

सत्ता साझेदार दलहरुबिच मन्त्रालयको भागबण्डामा औपचारिक सहमति हुन नसक्दा अहिले पनि मधेस प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो । 

यता, सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टीलाई तत्काल मधेस सरकारमा सहभागी नगराइने भएको छ । यसअघि मुख्यमन्त्री यादवले लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरिएको अभिव्यक्ति दिए पनि संघीय संसदमा सभामुख र उपसभामुखको निर्वाचनमा विपक्षी गठबन्धनलाई सहयोग गरेकाले लोसपालाई मधेस सरकारमा सहभागी नगराउने नेकपा एमालेका संसदीय दलका नेता एवं विनाविभागिय मन्त्री सरोजकुमार यादवले जानकारी दिए । 

मंगलबार अबेर रातिसम्म विनाविभागीय मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड गरिने उनले बताए । मन्त्री यादवले सत्ता साझेदार दलहरुको बैठकबाट मन्त्रालय भागबण्डामा सहमति जुटाइने बताए ।
अहिलेसम्मको सहमति अनुसार एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको छ । 

प्रदेश प्रमुख जनकपुरधाम बाहिर र उनी जनकपुरधाम आएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने मन्त्री यादवले बताए । यसका साथै प्रदेशमा मन्त्रालयहरुको संख्या थपघट नगर्ने र मन्त्री तथा राज्यमन्त्रीको संख्या विगतजस्तै यथावत राख्ने समझदारी भएको उनले बताए । 



मुख्यमन्त्री यादवले गत पुस २९ गते तीन विनाविभागिय मन्त्रीसहित शपथ लिएका थिए ।



  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १६:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया