दाजुभाइको अंशमा बाँडियो गाउँ

सिरहा– दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँ नै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ । 

ऐलानी जग्गामा बसोवास गर्दै आएका सिरहा लहान नगरपालिका–२३ गाढाका सुकुमबासी दलित (डोम मेस्तर समुदाय) उचित मरिकले छोरालाई अंशबन्डामा आफ्नो हिस्सामा रहेको गाउँ नै बाँडेका छन् । 

बाँसजन्य सामग्रीको बेचबिखन र सुङ्गुर, बङ्गुरपालन गरी जीविकोपार्जन गर्दै आएका मरिकले जेठा छोरा चेलाइलाई सिरहाको छरापट्टी र कटहाको आधा गाउँ अंशमा दिए भने अर्का छोरा गुलाइले भटौरटैर र विनोदले कल्याणपुर गाउँ अंशमा पाए । 

उक्त समुदायमा अंशमा पाएको र खरिद गरेको गाउँमा मात्र उत्पादन गरेको समान बिक्री गर्न पाइन्छ । त्यसरी पाएको र खरिद गरेको गाउँमा चाडपर्व र मृत्यु संस्कारमा उनैले मात्र खरिदारी गर्न पाउँछन् । आफूले उत्पादन गरेको सामग्रीको बिक्री वितरण मात्र होइन, सङ्गुर चराउन पनि नपाइने चलन रहेको चुल्हाइले बताए । 

उनका अनुसार, आफ्नै दाजु भए पनि अरुको अंशको गाउँमा कारोबार गर्न समेत पाइँदैन । अन्यथा जरिवाना तिर्नुपर्छ । प्रायः ओत लाग्ने झुपडी बनाउने जमिनसमेत नहुने उक्त समुदायको सम्पत्ति भनेकै अशंबापत पाएको र आफ्नै कमाइले खरिद गरेको गाउँ मात्र भएको डोम मेस्तर उत्थान समाज सिरहाका संयोजक रामचन्द्र मरिकले बताए । 

खुला बजार अर्थ नीतिअनुसार उत्पादित समान बजारमा निर्वाध रुपमा बिक्री गर्न पाइन्छ तर उक्त नीति सो समुदायमा लागू भएको छैन । सिरहा कुर्वाका विरजु मरिकले आर्थिक समस्या परेपछि सिसवनी–१ का हरि मरिकलाई २५ हजारमा बन्धक राखेको कुर्वा गाउँ फुकुवा गराए । घरायसी समस्या टार्न प्रायः ऋण, सापटी पैँचो, अन्नपात, पशुपक्षी बेचबिखन गर्ने चलन भए पनि डोम समुदायले भने गाउँलाई नै बन्धक वा किनबेच गर्छन् । 



सिरहाकै विधानगर–६ का दरपि मरिकले चैनपुर बजारदेखि पश्चिमतिरको गाउँ सिसवनीकै हरि मरिकलाई ७० हजारमा बिक्री गरे । सिरहामा करिब दुई हजारको हाराहारीमा डोम समुदायको बसोवास रहेको एक तथ्याङ्कले देखाएको छ । 

यति मात्र होइन, सन् २०१५ सम्ममा नेपाल सरकारले सबैका लागि निःशुल्क र गुणस्तरीय शिक्षाको घोषणा गरे पनि सिरहाका डोम समुदायका बालबालिकालाई यो अभियानले अझै छुन सकेको छैन । हातमुख जोड्न गाउँघर, सहर बजारमा शौचालय तथा ढल सफा गर्ने, सुङ्गुर, बङ्गुर पाल्ने, बाँसको सामग्री बेचेर जीविकोपार्जन गर्दै आएका डोम समुदायले आफ्ना छोराछोरीलाई औपचारिक शिक्षा दिन सकिरहेका छैनन् । 



तराई–मधेसमा सबैभन्दा पिछडिएको डोम समुदायका बालबालिका आर्थिक विपन्नताका कारण विद्यालय जानबाट वञ्चित भएका हुन् । विद्यालय पढ्न कापी, कलम बोकेर जानुपर्ने उमेरमा यस समुदायका बालबालिका हातमा लठ्ठी लिएर सुङ्गुर, बङ्गुर चराउन जान बाध्य छन् । सिरहाको उतरवर्ती क्षेत्रमा रहेको ढोढना गाविस–८ का १४ वर्षीय श्याम मरिकले किताबकापी किन्ने पैसा नभएपछि कसरी विद्यालय जान सकिन्छ भन्ने गुनासो गरे । 

झापादेखि रौतहटसम्म १२ जिल्लामा बसोवास रहेको यो जातिलाई राज्यले नै उपेक्षा गरेको छ । ‘सदियौँदेखि जातीय विभेदको सिकार बन्दै आएका डोम समुदाय सबै क्षेत्रमा पिल्सिँदै आएका दलित अधिकारकर्मी दीपेन्द्र पासवानले बताए । राज्यले दिने सेवा सुविधा प्रवाहमा प्रभावकारी अनुगमन हुन नसक्दा त्यस्ता सेवा सुविधाबाट ती समुदाय वञ्चित रहँदै आएको उनले जानकारी दिए ।

  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार १७:१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया