प्रधानमन्त्रीकाे गुनासाे : ओलीले राप्रपा र रास्वपासँग मिलेर घेराबन्दी गरे
राष्ट्रपति सकेसम्म आफैँ राख्ने नभए एमालेबाहेककाे दललाई दिने प्रचण्डको मनसाय

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा र रास्वपासँग मिलेर घेराबन्दी गरेकाे आराेप लगाएका छन् ।

बिहीबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले सरकार बनेको दिनदेखि नै ओलीले अप्ठ्यारो मात्रै बनाएको गुनासो गरेकाे माओवादी स्राेतले बताएकाे छ । 

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार प्रधानमन्त्रीको शपथग्रहणसँगै सबै पार्टीबाट एक-एकजनाले शपथग्रहण गर्ने सहमति थियाे । तर एमालेले चारजना मन्त्री पठाएकाे भन्दै प्रचण्डले असन्तुष्टि पाेखेका छन् । 

एकथाेक भन्ने, अर्को गर्ने ओलीको पुरानो बानी अझ पनि उस्तै रहेकाे भन्दै प्रचण्डले बैठकमा ओलीको व्यहारप्रति असन्तुष्टि पाेखेका थिए । मन्त्रालय बाँडफाँटमा आफूले मात्र राम्रा-राम्रा मन्त्रालय छान्ने मात्र नभएर भनेर रास्वपा र राप्रपालाई पनि अप्ठ्यारो पार्न लगाएकाे गुनासाे गरेका थिए । 

नेकपा हुँदा नारायणकाजी श्रेष्ठभन्दा पछाडि रहेका विष्णु पौडेललाई माथि राख्न लगाएकाे भन्दै प्रचण्डले ओलीप्रति असन्तुष्टि पाेखेका थिए । बैठकमा प्रचण्डले गठबन्धन बनाउन सहज भए पनि सरकार चलाउन भने असहज हुँदै गएको बताएका थिए । 

बैठकमा प्रचण्ड एमालेलाई राष्ट्रपति दिन अनिच्छुक रहेकाे आशय राखेका थिए । राष्ट्रपति सकेसम्म आफैँलाई राख्ने नभए सहमतिमा एमालेबाहेककाे दललाई राष्ट्रपति दिने प्रचण्डको मनसाय रहेको बताइन्छ । ‘सबै पद एउटै पार्टीलाई दिँदा भोलि के अवस्था आउँछ ? त्यही भएर के गर्न सकिन्छ, सबै मिलेर छलफल गरौँला,' प्रचण्डकाे भनाइ उद्धृत गर्दै एक नेताले बताए । 





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार १९:१०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया