काठमाडौं– बेलुकीको पाँच बजे । मण्डलामा १०० जनाजति युवा जम्मा भएका छन् । भिड बाक्लिने क्रम जारी छ ।
प्रायः चर्का–चर्का राजनीतिक, सामाजिक नारा लाग्ने मण्डलाको माहोल आज भने बेग्लै छ ।
फाट्टफुट्ट सुरक्षाकर्मी देखिन्छन् । युवाहरु मौन छन्, तर उनीहरुका टाउकाका टोपी र हातका प्लेकार्डले स्वर मच्चाइरहेछन्–
‘कम्युनिस्ट सरकार कि पञ्चायत रिटन्र्स ?’
‘भ्रष्टाचार बन्द गर्ने कि भ्रष्टाचारविरुद्धको गीत ?’
‘गीत होइन, भ्रष्टचार बन्द गर ।’
यतिकैमा पृष्ठभूमिमा गीत बज्न थाल्छ–
‘लुट कान्छा लुट, अरु देशमा पाइँदैन, नेपालमै हो छुट ।’
गीतको बोलसँगै युवाहरु जिउ मर्काउन थाल्छन्, हात हल्लाउँछन्, स्पिकरको आवाजसँग आफ्नो आवाज मिसाउँछन् ।
माहोल पूरै संगीतमय छ । मानौँ, कुनै पर्व या उत्सव मनाउन जम्मा भएको भिड हो यो ।
तर, टोपी र प्लेकार्डका अक्षरले बेग्लै बोलिरहेछन् । यो कुनै उत्सव होइन, विरोधको एक शैली थियो ।
‘लुट कान्छा लुट’ त्यही गीत हो, जुन हिजो मात्रै गायक पशुपति शर्माले विवादका कारण आफ्नो युट्युबबाट हटाएका थिए । लगत्तै, सत्तारुढ दलको दबाबमा पशुपति शर्मा गीत हटाउन बाध्य भएका भन्दै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको थियो ।
पशुपति शर्मा नेपाली समाजको वर्तमान अवस्थालाई आफ्नो गीतमार्फत व्यक्त गर्न माहिर छन् । त्यसैले पनि उनी जब कुनै गीत लिएर आउँछन्, त्यो चर्चाको चुचुरोमा पुगिहाल्छ । तर, चर्चामा हरेकपटक उनको वाहवाही मात्र भने हुँदैन । बेलाबखत विवादमा तानिइरहन्छन् उनी ।
चार वर्षअघि उनले गाएको गीत ‘हामी नेपाली’ पनि विवादमा परेको थियो । गीतले अपमान गरेको भन्दै जनजाति र दलित समुदायले विरोध गरेपछि गीत युट्युबाट हटाइएको थियो । अहिले त्यही इतिहास दोहोरिएको छ । यसपालि पनि उनको गीत सार्वजनिक भएको केही दिनमै विवादमा पर्यो, र गीतलाई उनी आफैँले युट्युबबाट हटाए ।
सरकारको आलोचनाले भरिपूर्ण गीतले छोटो समयमै निकै चर्चा पाएको थियो । तर, गीतमा प्रयोग भएका शब्दबारे सत्तारुढ दल नेकपाको युवा संगठन युवा संघ नेपाललगायत केही व्यक्ति तथा संस्थाले आपत्ति जनाएका थिए । शब्द संरचनामा आफ्नो कमजोरी भएको स्विकार्दै गायक शर्माले शनिबार फेसबुकमा सूचना जारी गरी गीत हटाएका थिए ।
गायक शर्माले गीत आफैँ हटाए पनि आम स्रोतामा भने गीत सरकारको दबाबले हटाउनुपरेको बुझाइ छ । सत्तारुढ दलका कार्यकर्ताले हटाउन दबाब र धम्की दिएपछि उनले गीत हटाएका हुन् भन्ने बुझाइले नै माइतीघरमा यो हुल जम्मा गरेको हो ।
माइतीघरमा उपस्थित युवामाझ हामीले प्रश्न तेर्स्यायौँ– तपाईं यहाँ किन आउनुभएको ?
जवाफमा सामाजिक अभियन्ता मिलन पाण्डे भन्छन्, ‘संविधानले मौलिक हकको रुपमा अभिव्यक्ति स्वतन्त्रता भनेर व्याख्या गरेकाले व्यक्तिलाई आफ्नो विचार राख्न पाउने छुट हुन्छ । तर, अहिले सत्तापक्षले समाजमा व्याप्त बेथितिलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गर्दा पनि गायक पशुपति शर्मालई दबाब दिएर गीत बन्द गर्न लगाएको छ ।’
पाण्डे थप्छन्, ‘लोकतान्त्रिक मुलुकमा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो यो । यसको विरुद्धमा हामी बन्द गरिएकै गीत बजाएर सामूहिक नाच देखाइरहेका छौँ ।’
‘हामीले आधारभूत अधिकार र स्वतन्त्रताका लागि भनेर इतिहासमा त्यतिका लडाइँहरु लड्यौँ । सत्ता र शक्तिमा बसेकाहरुले नराम्रो गरिरहेका छन् त जनताले खबरदारी किन नगर्ने ?’ कार्यक्रमका अर्का सहभागी गोमेससिंह उप्रेती भन्छन्, ‘जनताका छोराछोरीलाई शक्तिमा राखिसकेपछि पनि जनताले आफ्ना अधिकार प्रयोग गर्न पाउँदैनन् भने आवाज त उठाउनैपर्छ । सरकारले नागरिकको स्वतन्त्रता खोस्न पाउँदैन । पशुपति शर्माले गीत गाएर राज्यलाई खबरदारी गर्न मात्र खोजेका हुन् ।’
हामीले अर्को प्रश्न राख्यौँ– ‘गायक शर्माले त गीत आफैँ हटाएको भनेर फेसबुकमै लेखेका थिए, गीत हट्नुमा सरकारको दोष छ र ?’
‘गीत हटाउन बाध्यकारी नबनाएको भए टपटेनभित्र परेको गीतलाई शर्माले सामान्य आलोचनामा किन हटाउँथे ?’ उप्रेती प्रतिप्रश्न गर्छन् ।
उप्रेतीको कुरामा सहमत छिन्, कार्यक्रममा सहभागी रजिया बानु । ‘आज पशुपति शर्माको स्वतन्त्रता खोसिएको छ भने भोलि हाम्रो स्वतन्त्रता पनि खोसिन सक्छ,’ शर्माको गीतले जनतामा राजनीतिक चेतना ल्याएको बताउँदै बानु भन्छिन्, ‘बारम्बार यसरी वाक्–स्वतन्त्रतामा अंकुश लगाउँदै जाँदा पनि हामी चुप बस्ने हो भने भोलिका लागि यही नजिर बस्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।