‘जनताको जलविद्युत् कार्यक्रम’ले अग्रिम सेयर बेच्न पाउने

काठमाडौं– सरकारले अगाडि बढाएको जनताको जलविद्युत् कार्यक्रमका लागि लगानीकर्ताले सुरुमै १० प्रतिशत रकम दाखिला गरी सेयर आवेदन माग गर्न सक्ने व्यवस्था गरिएको छ । 

नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ संशोधन गरी उक्त व्यवस्था गरेको हो । सरकारको कम्तीमा ५१ प्रतिशत सेयर स्वामित्व भएको जलविद्युत् कम्पनीले आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन वा आयोजनाको कुल लागत अनुमान र निर्माण अवधि खुलाई तयार गरिएको आधिकारिक विवरणका आधारमा सेयर रकमको कम्तीमा १० प्रतिशत रकम उठाउन पाउने व्यवस्था बोर्डले गरेको छ । 

यस्तै, आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भइसकेको वा सोको लागि आसयपत्र प्राप्त भएको अवस्थामा सरकारबाट स्वीकृत कार्यक्रमबमोजिम सर्वसाधारणबाट पुँजी संकलन गरी जलविद्युत् आयोजना निर्माण गर्न सेयर बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ । 

सेयर आवेदन गर्ने आवेदकलाई सेयर बाँडफाँट हुने भएमा कम्पनीको १० प्रतिशत चुक्ता भएको सेयर प्रदान गरिने र त्यस्तो सेयरधनीलाई कम्पनीले सरकारले निर्धारित गरेको वार्षिक प्रतिफल प्रदान गर्न सक्ने र त्यस्तो प्रतिफल सेयरको चुक्ता हुन बाँकी रकममा समेत मिलान गर्न सकिने व्यवस्था गरिएको छ । सेयरको रकम शतप्रतिशत चुक्ता भएपश्चात् त्यस्तो सेयर धितोपत्रको दोस्रो बजारमा कारोवार हुन सक्ने व्यवस्थासमेत गरिएको बोर्डले जनाएको छ । 

सेयरको चुक्ता हुन बाँकी रकम प्राप्त नभएमा कम्पनीले त्यसरी चुक्ता हुन बाँकी रकम बराबरको सेयर अन्य इच्छुक खरिदकर्तालाई एक महिनाको समय अवधि दिई सार्वजनिक सूचना जारी गरी बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ । त्यसरी सूचना जारी गर्दासमेत सेयर बिक्री नभए संस्थापक सेयरधनी वा नेपाल सरकारको नाममा रहने गरी आवश्यक व्यवस्था गरिएको बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले जानकारी दिए । 

फागुन २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमको घोषणा गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न १९ आयोजनालाई सो कार्यक्रममा राखेको छ । मन्त्रालयले उच्च प्रतिफल दिने आयोजना छनोट गरी कार्यान्वयमा लयाउन लागेको जनाएको छ ।  





  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार २१:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया