पक्राउ पर्न सक्छन् रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले नेपाली नागरिकता दुरुपयोग गरेको ठहर भएसँगै उनी पक्राउ पर्ने सक्ने देखिएको छ ।

उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गर्ने बाटो शुक्रबारको सर्वोच्च अदालतको संवैधानिक इजलासको निर्णय पछि आएको हो । संवैधानिक इजलासले लामिछानेले अहिले प्रयोग गरिरहेको नेपाली नागरिकता अमान्य घोषणा गरेको छ । योसँगै उनलाई पक्राउ गर्ने बाटो खुला भएको हो ।

सर्वोच्चको फैसलाका कारण लामिछानेको सांसद, मन्त्री तथा पार्टी सभापति पद सबै खारेज भएको छ । 

तर, उनले त्यही नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट बनाएको, पार्टी दर्ता गरेको, निर्वाचनमा उम्मेदवारी दिएको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रशासनले उनलाई पक्राउ गर्न सक्छ ।

अमेरिकी नागरिकता लिएर त्यसलाई फिर्ता गरेपछि उनले नेपाली नागरिकता पुनप्राप्तिका लागि कुने प्रक्रिया नअपनाएकाले उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।

उनले यही नागरिकता प्रयोग गरेर नेपाली पासपोर्टसमेत लिएका छन् । यही विषयमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । गृह मन्त्रालयकै निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोहोरो नागरिकता प्रयोगको सम्बन्धमा छानबिन गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेखेर जिम्मेवारी तोकेको थियो । 



जिल्ला प्रहरी परिसर काठमाडौंले दोहोरो नागरिकताको प्रयोगको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, अध्यागमन विभाग र नेपालस्थित अमेरिकी दूतावासबाट समेत सो सम्बन्धमा बुझ्ने काम गरिरहेको छ ।  लामिछानेले ५ मार्च २०१४ मा अमेरिकी नागरिकका रुपमा पासपोर्ट बनाई नेपाल आएपछि अमेरिकी पासपोर्ट र नागरिकता त्याग नगरी २७ मे २०१५ मा नेपालबाटै अर्को पासपोर्ट बनाएका थिए । सोही सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

नेपाल नेगरिकता ऐन, २०६३ ले नेपालमा दोहोरो नागरिकता लिन प्रतिबन्ध लगाएको छ । कुनै विदेशीले झूटो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेमा निजलाई एक वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । 



नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ मा दण्ड सजाय सम्बन्धी व्यवस्था गरिएको छ । ऐनमा २१ को को उपदफा १ मा विदेशी नागरिकले झूठो विवरण दिई नागरिकता लिएमा वा प्राप्त गरेमा हुने सजायबारे उल्लेख गरिएको छ । 

  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार १९:१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया