चितवन-२ मा उपनिर्वाचन हुने, कस्तो छ आयोगको तयारी ?
फाइल फाेटाे

चितवनको  प्रतिनिधिसभा क्षेत्र नं. २ मा उपनिर्वाचन हुने भएको छ । चितवन २ बाट जितेका रवि लामिछानेको शुक्रबार सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि प्रतिनिधि सभातर्फ त्यहाँ उपनिर्वाचन हुने भएको हो ।

लामिछानेको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि मात्रै चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको प्रकृया सुरु गरिने भएको छ । अब सरकारसँग परामर्श गरेर उपनिर्वाचन​को प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पोडेलले बताए । त्यसअघिसर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आउनुपर्ने उनले बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै पनि कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पदका लागि उपनिर्वाचन हुने व्यवस्था छ । 

आयोगले ऐनको त्यही व्यवस्थाबमोजिम उपनिर्वाचन गर्ने जनाएको छ । तर कानुनमा उपचुनाव कहिले गर्ने भन्ने स्पष्ट व्यवस्था नभएका कारण आयोगले सरकारसँगको छलफलपछि मात्रै निर्वाचनको मिति तय गर्ने छ । 

गत ४ मंसिरमा भएको चुनावमा चितवन क्षेत्र नं २ बाट लामिछाने भारी मतान्तरले विजयी भएका थिए । उनी ४९ हजार २६४ मतका साथ विजयी भएका हुन् । लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत पाएका थिए ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रेष्ठभन्दा ३४ हजार २८१ भोट बढी पाएका थिए । सर्वोच्चको आदेशलगत्तै लामिछानेले मन्त्री, पार्टीको सभापति र संसदीय दलको नेताबाट राजीनामा दिइसकेका छन् । 





  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार ११:३७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया