रवि लामिछानेलाई गृहमन्त्री बनाउनै चाहँदैनन् प्रचण्ड

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्रालयमा फर्किन चाहन्छन् । उनले यसका लागि आइतबार साँझदेखि नै दौडधूप सुरु गरिसकेका छन् ।

गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि आइतबार नागरिकता पुनप्र्राप्तिका लागि प्रक्रिया पूरा गरेका लामिछाने आइतबार नै फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति चयन भएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले भागवण्डामा आफूलाई गृह मन्त्रालय परेकाले आफूलाई सोही मन्त्रालय चाहिने दाबी गर्ने निर्णय गरेको थियो । यही बैठकले गैरसांसद भए पनि लामिछानेलाई नै गृहमन्त्रीमा फेरि पठाउने निर्णय गरेको छ ।

पार्टीमा यो निर्णय गराएर बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका थिए, रवि लामिछाने ।

लामिछानेले त्यो भेटमा प्रचण्डसँग आफूलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न अनुरोध गरे । उनले ६ महिनाभित्र उपनिर्वाचनबाट आफू फेरि सांसद हुने दाबी पनि प्रचण्डसँग राखेका थिए ।

तर, प्रचण्डले यो भेटघाटमा रवि लामिछानेसँग केही बताएनन् । उनले यसबारे सत्तारुढ दलहरुसँग छलफल गरेर अगाडि बढ्ने मात्र बताएपछि रवि त्यहाँबाट निराश भएर फर्किए ।



लामिछानेनिकट एक नेताका अनुसार योबीच उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत आफू पुनः गृहमन्त्री हुनु पर्ने बताइसकेका छन् । ओली पनि लामिछानेलाई गृहमन्त्री बनाउने पक्षमा देखिएका छन् । ओलीले पनि प्रचण्डलाई आइतबार भएको लामो छलफलमा यही सुझाएका थिए । 

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फेरि लामिछानेलाई गृहमन्त्री बनाउने पक्षमा छैनन् । लामिछानेको दोहोरो पासपोर्टबारे छानबिन चलिरहेकाले उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिन नहुने प्रचण्डनिकटका नेताहरुले प्रचण्डलाई सुझाएका छन् ।



लामिछानेलाई गृह मन्त्रालय नदिँदा अहिलेको सत्ता समीकरणमा फेरबदल आउन सक्ने अनुमान नेकपा एमालेका नेताहरुले गरेका छन् । त्यसैले पनि उनीहरुले लामिछानेलाई नै गृह मन्त्रालय दिनु पर्ने बताउन थालेका छन् । एमाले महासचिव शंकर पोखरेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले सार्वजनिक रुपमा नै लामिछानेलाई गृहको जिम्मेवारी दिनु पर्ने बताउन थालेका छन् ।

यही विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले सोमबार विहान पदाधिकारी बैठक बोलाएको थियो । तर, यो बैठकमा यस विषयमा खासै चर्चा नभएको एक नेताले बताए । 

बैठकबाट बाहिरिँदा प्रचण्डलाई गृहमन्त्रीबारे सन्चारकर्मीहरुले प्रश्न गरेका थिए । 

कसलाई गृहमन्त्री बनाउनु हुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘बनेपछि थाहा हुन्छ ।’

नेकपा माओवादी केन्द्रले गृहमन्त्री बनाउने जिम्मेवारी पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई नै सुम्पिएको छ । तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री नदिने ‘मुड’मा पुगिसकेको उनीनिकट एक नेताले फरकधारलाई बताए । नेकपा माओवादी केन्द्रका पदाधिकारीसमेत रहेका ती नेताले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेलाई नै गृहमन्त्र बनाउनु पर्छ भन्ने धारणा राखेको छ । तर, उहाँको पासपोर्टमाथि पनि छानबिन चलिरहेकाले अहिले यो सम्भव छैन, केही दिनमा नै प्रधानमन्त्रीज्यूले माओवादी केन्द्रबाट नै गृहमन्त्री चयन गर्नुहुन्छ ।’


  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार १६:४४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया