सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व हो : प्रधानमन्त्री प्रचण्ड
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमसार क्षेत्र सबैका साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

सिमसार दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जलवायुजन्य जोखिम तथा अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र सङ्कटमा पर्दै गएको उल्लेख गरेका छन् ।  सन्देशमा प्रधानमन्त्री दाहालले सिमसार क्षेत्रको संरक्षण, सम्बद्र्धन तथा दिगो व्यवस्थापन गरी त्यहाँबाट उत्पादन हुने वस्तु र सेवाको दिगो सदुपयोगका लागि तीन तहका सरकार, स्थानीय समुदाय र निजी क्षेलाई आह्वान गरेका छन् ।

दिवस अवसरमा उनले सफा जल र स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक सिमसार क्षेत्रको संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्नका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गरे । प्रधानमन्त्री दाहालले यसका लागि आवश्यक नीतिगत तथा संस्थागत व्यवस्थाका लागि आपसी समन्वय, सहकार्य र सह–अस्तित्वसहित सिमसार क्षेत्रको संरक्षण गर्नसमेत आग्रह गरेका छन् ।

आज फेब्रुअरी २ तारिखका दिन संसारभर ‘आजको आवश्यकताः सिमसारको पुनःस्थापना’ भन्ने सङ्कल्पका साथ विश्व सिमसार दिवस मनाइँदै छ । जानेर वा नजानेर सिमसार क्षेत्र अतिक्रमण हुने गरेका, सहरी क्षेत्रका सिमसार प्रदूषित हुने गरेका, पहाडी क्षेत्रमा जथाभावी रुपमा सडक खन्दा र सहरी क्षेत्रमा जथाभावी रुपमा हुने बसाइँसराइ र भौतिक विकास निर्माणले गर्दा सिमसार क्षेत्र नासिँदै गएका छन् । पछिल्ला दिनमा जलवायु परिवर्तनको जोखिमका कारण सबैभन्दा बढी नकारात्मक प्रभाव सिमसार क्षेत्रमा पर्ने गरेको छ भने तापक्रम अत्यधिक वृद्धि हुँदा सुख्खा समयमा सिमसारको पानी सुक्ने गरेको र अत्यधिक वर्षाले गर्दा बाढीपहिरो र डुवानको कारण सिमसार क्षेत्र पुरिने गरेका छन् ।

‘सिमसार संरक्षण गर्ने नेपालको आफ्नै मौलिक परम्परालाई सन् १९८८ मा कोसीटप्पु वन्यजन्तु आरक्षलाई विश्व रामसार सूचीमा सूचीकृत गरेर अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै सिमसार क्षेत्रको जगेर्नामा क्रियाशील रहेको सर्वविदितै छ । नेपालमा भएका तालतलैया, ढाव, कुवा, कुलो, खोलानाला गरी करिब पाँच दशमलव पाँच प्रतिशत क्षेत्रफल सिमसार क्षेत्र रहेको छ । त्यसमध्ये अन्तर्राष्ट्रिय महत्व भएका १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गर्न सफल भएका छौं’ प्रधामन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । 





  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार १२:३२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया