गण्डकी प्रदेशसभाले गर्‍यो दुई अध्यादेश स्वीकृत
फाइल तस्बिर

गण्डकी प्रदेशसभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारबाट जारी भएका निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गरेको हो ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले अध्यादेशलाई स्वीकृत गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको हो । आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले पृथ्वीराजमार्गको पोखरा मुग्लिन सडकखण्ड निर्माण भइरहेका अवस्थामा बाटोमा पर्ने बिजुलीका पोलले समस्या पारेको भन्दै उक्त पोल चाँडो व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

अर्का सदस्य कुसुम बुढा पुनले मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र अवस्थामा रहेको र पटक-पटक म्याद थप हुने र काममा ढिलासुस्ती हुने गरेको जनगुनासो बढेको बताइन् । शून्य समयमा सदस्य चम्पादेवी खड्का, जीतप्रकाश आले मगर, दोर्णकुमार कुँवर, फणिन्द्र देवकोटा, विकल शेरचन, विमला गौचन, सरस्वती अर्याल तिवारी र सुधीरकुमार पौडेलले समसामयिक विभिन्न विषयमा प्रदेशसभा एवम् सरकारको ध्यानाकर्षण गराएका थिए । 

बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य सरस्वती गुरुङले आफ्नै आम्दानीमा प्रदेश चल्ने किसिमको वातावरण निर्माणका लागि सबै जुट्नुपर्ने आवश्यकता औँल्याइन् । अर्का सदस्य जीतबहादुर शेरचनले प्रदेशमा उत्पादनमा जोड दिँदै समृद्धि हासिल गर्नेतर्फ लाग्नु जरुरी रहेको बताए । महेश भट्टराईले जनचाहना अनुरुप आर्थिक समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता रहेको बताए । 





  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार १५:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया