शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

‘जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो । विद्यालय निर्माणका निम्ति मेरो भूमिका छ । म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ प्रचण्डले भने ।

विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उनले स्मरण गरे । चीन सरकारलेल भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । नेपाली जनताको समृद्धि र सुशासनको आकाङ्क्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा रहेको उनले बताए । 

‘सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको छ । दुःख र सुखीमा म तपाईँहरूको साथमा छु,’ प्रधानमन्त्रीले भने, ‘जुरेको पहिरो, भूकम्पपछिको पुनःनिर्माण, मेलम्चीको विनाशलगायतका सबै पीडामा तपाईंहरूसँग ऐक्यबद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ ।’ 

उनले मुलुकको अर्थतन्त्रमा केही गम्भीर समस्या भएको भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताए । ‘निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधार देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने । 

उनले प्रतिनिधिसभामा आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भएको भन्दै यो ठूलो जिम्मेवारी र चुनौती भएको बताए । 





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार १५:५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया