उद्घाटन लगत्तै बेपत्ता पानीजहाज कार्यालय

काठमाडौं– गत बुधबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटा कार्यक्रमलाई सम्बोधन गर्न भ्याए । तीमध्ये एक थियो, प्रधानमन्त्री ओलीले अघिल्लो प्रधानमन्त्रीकालदेखि नै बाचा गर्दै आएको ‘नेपालको आफ्नै पानीजहाज’का लागि स्थापित पानीजहाज कार्यालयको उद्घाटन । त्यसलगत्तै प्रधानमन्त्री ओलीले जनता जलविद्युत् आयोजना, नेपाल इन्टरपेनसिप समिट र सरकारको एक वर्षको प्रगति विवरण सार्वजनिक कार्यक्रममा पनि सम्बोधन गर्न भ्याए । 

अन्य कार्यक्रमकाबारे खासै चर्चा नभए पनि पानी जहाज कार्यालयकाे उद्घाटन भने अहिले सर्वत्र चर्चाको विषय बनेको छ । उक्त कार्यालय उद्घाटनका लागि प्रधानमन्त्री ओली बिहान १० बजे नै पुग्ने बताइए पनि उनी एक घन्टा ढिलो कार्यक्रममा पुगेका थिए । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालका नदी गहिरो नभएकाले कम गहिराइमा चल्न सक्ने गरी नयाँ पानीजहाजको डिजाइन गर्न पनि इन्जिनियरलाई आइडिया दिएका थिए । उनले नदीमाथि भएका पुलका कारण अवरोध देखिए पुल नै उठाएर भए पनि पानीजहाज चलाउन सकिने भन्दै उत्साहजनक भाषण गरेका थिए । 

नेपालमा रेलभन्दा पहिले पानीजहाज आउने विश्वास दिलाउँदै प्रधानमन्त्रीले पानीजहाजको पहुँचमा पुगेपछि नेपाल भूपरिवेष्ठित देश नरहनेसम्मको भाषण गरे । उनको उत्साहजनक भाषणलाई सञ्चारमाध्यामले पनि उत्साहजनक रूपमै सम्प्रेषण गरे । प्रधानमन्त्रीले विशेष महत्व दिएर उद्घाटन गरेको पानीजहाज कार्यालयले कत्तिको उत्साहका साथ काम गरेको होला भनेर बुझ्ने उद्देश्यले आइतबार बिहान हामी एकान्तकुना चोकबाट सय मिटरअगाडि यातायात कार्यालयको छेवैमा रहेको नेपाल पानी जहाज कार्यालयमा पुग्यौँ । 

उद्घाटनका दिन सो स्थानमा प्रधानमन्त्रीको ठूलो फोटोसहित ‘पानीजहाज उद्घाटन कार्यक्रम’ लेखिएको होडिङ बोर्ड थियो । तर, आइतबार भने त्यो बोर्ड थिएन । 



कार्यालयमा हामी पुग्दा सवा १० बजेको थियो । कार्यालयको माथिल्लो तलमा एकजना कर्मचारी पत्रिका पढेर बसिरहेको परैबाट देखियो । हामी उनी भएको ठाउँमा जानै लाग्दा कार्यलयको ठिक अगाडि अर्का युवाले एउटा बाल्टिनमा कपडा भिजाउँदै थिए । ‘तपाईं पानी जहाज कार्यालयको कर्मचारी हो ?’ भन्ने हाम्रो प्रश्नमा उनले बाल्टिनमा कपडा खाँद्दै ‘होइन’ भन्ने संकेतमा टाउको हल्लाए । 



फेरि हामीले सोध्यौँ, को हुनुहुन्छ त अफिसमा ?

त्यसपछि बल्ल उनले मुख खोले, ‘अहिले त कोही पनि हुनुहुन्न । म माथिल्लो अफिसको मान्छे हो । अस्ति उद्घाटन भएदेखि कोही पनि आउनुभएको छैन ।’

उक्त भवनमा पानी प्रधानमन्त्रीले उद्घाटन गरेको पानीजहाजको कार्यालय मात्रै नभएर, काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालय पनि छ । साढे दुईतले भवनमा पानीजहाजका कार्यालयका लागि भुईंतलाका तीनवटा कोठा छुट्याइएको रहेछ । 

सो कार्यालयमा तीनवटा कोठाबाहेक महिला र पुरुषका लागि छुट्याइएका दुई छुट्टाछुट्टै शौचालय पनि छन् । कार्यालयका सबै कोठामा ताला लगाइएको छ । प्रधानमन्त्रीले उद्घाटन गर्दाका दिन राखिएको बोर्ड भने बाहिरै उल्टो बनाएर ठड्याइएको छ । त्यससँगै उद्घाटन कार्यक्रमको ब्यानर पोको पारेर राखिएको छ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेपाल पानी जहाजको कार्यालय लेखिएको अर्काे ठूलो बोर्ड पनि पुराना गाडीहरू राखिएको कोठामा थन्किएको थियो ।

 

यसअघि यान्त्रिक कार्यालय भएको कोठालाई नै पानीजहाज कार्यालय बनाएको ती माथिल्लो कार्यालयका कर्मचारीले  बताए । यान्त्रिक कार्यालयलाई गत साउनमा हेभी इक्विपमेन्टसँग मर्ज गरेपछि असोजबाट  यान्त्रिक कार्यालयका सबै काम बानेश्वरबाटै हुँदै आएको रहेछ । तर, यान्त्रिक कार्यालयका केही सामान अहिले पनि त्यहीँ भएको ती कर्मचारीले बताए । 

प्रधानमन्त्रीले उद्घाटन कार्यक्रमपछि कार्यक्रमबाट बाहिरिनुअघि पानीजहाज कार्यालयको पनि अनुगमन गरेका थिए । तर, उद्घाटन भएको दिनदेखि नै कोही पनि कर्मचारी कार्यालयमा नआएको चक्रपथ कार्यालयका कर्मचारीले जानकारी दिए । 

काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालयका अर्का कर्मचारी भन्छन्, ‘हामीले कोही पनि आएको देखेका छैनाैँ, यसबारे मन्त्रालयमा बुझ्न सकिएला ।’ उनले पानीजहाज कार्यालय उद्घाटनका दिन चक्रपथ सुधार आयोजना लेखिएको बोर्ड पनि निकाल्न लगाइएको बताए । ‘त्यतिवेला हाम्रो अफिसको बोर्ड निकाल्न लगाइएको थियो, आज हाम्रो सरले फेरि टाँग्नू भनेपछि मैले बिहानै टाँगेँ,’ उनले भने । 

अढाई वर्षदेखि प्रधानमन्त्री ओलीको भाषणमा सुनिएको पानीजहाजका लागि कार्यालय उद्घाटनसम्म त भयो । तर, सो स्थानको स्थलगत अध्ययन गर्दा सरकारले फगत मिडियाबाजीका लागि मात्रै तामझाम गरेको देखियो । नेपालका यसअघिका थुप्रै ठूला आयोजना उद्घाटनमै सीमित हुने परम्पराले पानीजहाज कार्यालय पनि उद्घाटनमै सीमित हुने त होइन ? भन्ने आशंका गर्न सकिन्छ ।

  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार १३:३५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया