रविलाई दिलभूषणकाे प्रश्न : कुनैबेला प्रधानसम्पादक बनिदिन आग्रह गर्नुभएको होइन ? आज के आधारमा मलाई पापी भन्नुभयो ?

निवर्तमान गृहमन्त्री रवि लामिछानेले आफूलाई सहयाेग नगरेकाे भन्दै नाम लिएका १२ पत्रकारमध्येका एक दिलभूषण पाठकले साे विषयमा आफ्नाे भनाइ सार्वजनिक गरेका छन् । 

मंगलबार साँझ फेसबुकमार्फत पाठकले झण्डै ३० वर्षको व्यावसायिक जीवनमा आजसम्म आफूले लेखेका वा बनाएका समाचार कार्यक्रममा वा सामाजिक सञ्जालमा कहीँ, कतै, कसैलाई गाली बेइज्जत गर्ने, अपमान गर्ने वा होच्याउने काम नगरेको दाबी गरेका छन् ।

उनले लेखेका छन्, 'मेरा लागि पत्रकारिता तथ्यपरक र सन्तुलित हुनुपर्छ । मेरो पत्रकारितालाई लिएर आजसम्म प्रेस काउन्सिल वा कुनै न्यायिक निकायमा एउटा पनि उजुरी वा मुद्दा परेको छैन । सत्यता नभएको र गलत सूचना प्रवाह गरेको एउटा पनि घटना भए देखाउन चुनौती दिन्छु ।'

पाठकले लामिछानेलाई प्रश्न गरेका छन्,'आफूमाथि लागेका आरोप सार्वजनिक रुपमा स्पष्ट पार्नुको सट्टा विषयान्तर गर्न कसैको मानमर्दन गर्नु कस्तो मनोविज्ञान हो ? यस्तो सोच कसरी आयो ?'

कुनैबेला रविले प्रधानसम्पादक भएर समाचारको नेतृत्व गर्न आग्रह गरेकाे स्मरण गराउँदै उनले लेखेका छन्, 'तपाईं स्वयंले कुनैबेला News24 मा काम गर्दा वा Galaxy 4K सुरु गर्दा "मेरो पछाडि भीड मात्र छ तर तपाईंसँग आधिकारिकता छ, बौद्धिकता छ, सामाजिक प्रतिष्ठा र व्यावसायिक कुशलता छ भनेर घरमै आएर प्रशंसा गर्दै प्रधानसम्पादक भएर समाचारको नेतृत्व गर्न आग्रह गर्नु भएको होइन ? म आफ्नो काममा पोखरामा जाँदा मलाई भेटेर कन्भिन्स गर्न खोजेको होइन ? आज अचानक के आधारमा तपाईंले मलाई पापी भन्नु भयो ? कि तपाईं पत्रकारबाट नेता बन्नासाथ आएको सोच हो यो ?' 

आफ्नो काममा दत्तचित एउटा श्रमजीवी सञ्चारकर्मीलाई जबरजस्ती विवादमा ल्याउने काम नगर्न आग्रह गर्दै उनले लेखेका छन्, 'तपाईंप्रति वा कसैप्रति खराब नियत राखी तीतो बोलेको, अशिष्ट भएको, मानमर्दन गरेको कुनै एउटै प्रमाण छ भने देखाइदिनुहोला प्रायश्चित गरौंला ।' 





  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार १९:२१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया