स्ववियु निर्वाचनका लागि ‘अनुगमन तथा समन्वय’ समिति

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीको संयोजकत्वमा ‘स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय’ समिति गठन गरेको छ । सोमबार बसेको त्रिवि पदाधिकारीको बैठकले स्ववियु निर्वाचनका लागि त्रिपाठीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराए । 

उनले समितिले चाँडै नै स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने र निर्वाचन हुने सबै क्याम्पसमा निर्वाचन गर्न समन्वय गर्ने बताए । उनका अनुसार उक्त समितिको काम कारबाही छिटो–छरितोरुपले सञ्चालन गर्नका लागि शिक्षाध्यक्ष डा. त्रिपाठीको संयोजत्वकमा सात सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको सहसंयोजकमा रजिस्ट्रार उप्रेती, सदस्यमा विष्णुप्रसाद खनाल, नरेन्द्रप्रसाद शिवाकोटी, विष्णु केसी, वैकुण्ठ खनाल, नारायणप्रसाद खनाल र सदस्य सचिवमा गंगाबहादुर थापामगर रहेका छन् ।

त्रिविले प्रत्येक दुई वर्षमा गर्ने निर्वाचनको कार्यकाल यही फागुन १८ गते सकिँदै छ । त्रिविले यसअघि सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन तयारी गर्न निर्देशन दिइसकेको छ । विसं २०६५ यता त्रिविमा निर्वाचन पूर्ण रुपमा हुन सकेको छैन । विसं २०७३ मा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । 

यसैगरी, निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन् । सोमबार बिहान ११ बजे स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै त्रिवि कार्यालय घेराउ गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । 

घेराउ कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले निर्वाचनका लागि समिति बन्नु सकारात्मक भएकाले निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने बताए । क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले निर्वाचनको कार्यतालिका सार्वजनिक नहुँदासम्म आफ्ना आन्दोलनका कार्यक्रम यथावत् रहने जानकारी गराए । 

मंगलबार दुवै विद्यार्थी संगठनले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न दबाब दिन देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शन गर्ने कार्यतालिका रहेको छ । 





  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार १८:३८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया