नागरिक उन्मुक्ति पार्टीकी सभापति रञ्जिता श्रेष्ठ चौधरीले आफनो पार्टी सधैँ अरुले प्रयोग गर्ने साधन नभएको बताएकी छिन् । सुदुरपश्चिम प्रदेश सरकार विश्वासको मत नपाएर आज ढले लगत्तैसभापति श्रेष्ठले आफ्नो पार्टी विचारमा कट्टिबद्ध रहेको पनि जनाएकी छिन् ।
‘हामी विचारमा कटिबद्ध छौँ, सबैले सधैं प्रयोग गर्ने साधन होइनौं, यो देश हाम्रो पनि हो, देशको शासन प्रशासनमा हाम्रो पनी सहभागिता रहनुपर्दछ, भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन, ‘मूलबासीको अपमान गरेर मुलुक कहिल्यै समृद्धिशाली हुन सक्दैन, त्यसैले जनभावनाको कदर गरौँ, जनमतको कदर गरौँ ।’
नागरिक उन्मुक्तिले पार्टीका सल्लाहकार रेशमलाल चौधरीको रिहाइको माग गर्दै आएको छ । अझ कैलालीका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरेपछि नागरिक उन्मुक्ति आक्रोशित भएको छ ।
उन्मुक्ति पार्टीले सत्ता साझेदार एमालेबाट मुख्यमन्त्री भएका रावललाई विश्वासको मत नदिँदा महिना दिनमा नै सुदूरपश्चिम सरकार ढल्न पुगेको छ । गत २७ पुसमा उन्मुक्तिको समर्थनमा रावल सुदूरपश्चिम सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए ।
‘अहिलेसम्म राज्य टीकापुर घटनाप्रति अनुदार छ, मानवअधिकारकर्मीहरुले आँखा खोलेका छैनन्। हामीलाई उचाल्नेहरुको ताँती पनि लामै छ, तर हामी न्यायको पालना गरेर जेलमा चौखुरिएर बस्न बाध्य छौं,’ उनले फेसबुकमा लामो स्टाटस लेख्दै प्रश्न गरेकी छिन, ‘राष्ट्रप्रति हिजो आज र भोलि पनि उत्तिकै बफादार थारुलाई न्यायिक दृष्टिको प्रकाश किन परिरहेको छैन रु झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालिरहन्छौं।’
न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छाया बनाइरहेको पनि प्रष्टै देखिएको श्रेष्ठको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।