सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष तथा संयन्त्रका संयोजक केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सत्ता साझेदार दलका शीर्ष नेता सहभागी छन् ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भइरहेको छ । केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो । यद्यपि उसले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।
आजको बैठकमा रास्वपा सरकारबाट बाहिरिनुपर्ने अवस्थाको बारेमा पनि छलफल हुने बताइएको छ । साथै, बिहीबार सुदूरपश्चिममा सत्ता गठबन्धन समर्थनमा बनेको नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेको विषयमा पनि छलफल भइरहेको छ ।
बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा पनि छलफल हुने बताइएको छ । निर्वाचन आयोगले फागुन २५ मा राष्ट्रपति निर्वाचन मिति तोकिसकेको छ । यद्यपि अहिलेसम्म सत्ता साझेदार दलहरूले राष्ट्रपति उम्मेदवार टुंग्याउन सकेका छैनन् ।
एमाले पूर्वसहमति अनुसार राष्ट्रपति उम्मेदवार आफ्नो पार्टीबाट हुनुपर्ने अडानमा छ । प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।