अमेरिकीले गत सोमबार बिहान गएको शक्तिशाली भूकम्पबाट प्रभावित टर्की र सिरियालाई आर्थिक सहयोग गर्ने भएको छ । अमेरिकाको मानवीय सहायता संस्था युएसएआईडीले भूकम्पको सामना गर्न दुवै देशलाई ८ करोड ५० लाख डलर सहयोग गर्ने भएको हो ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले दिएको यो सहयोग खाद्यान्न, पानी र स्वास्थ्य सामग्रीका लागि प्रयोग गरिने छ । साथै, जाडोबाट जोगिनका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
हालसम्म टर्की र सिरियामा भूकम्पका कारण २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । उद्धारकर्मीहरूका अनुसार भूकम्पबाट टर्कीमा २० हजार २१३ जना तथा सिरियामा ३ हजार ५०० जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरू भूकम्पपछि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकिने विश्वासका साथ खोजतलास गरिरहेका छन् ।
टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेका छन् । विश्व बैंकले १ अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।