राष्ट्रपतिको सवारी खुकुलो बनाउनुपर्नेमा सांसदहरूकाे जोड

सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीमा जनताले दुःख पाएको भन्दै सरकारको आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले राष्ट्रपतिको सवारी चलाउँदा जनताले दुःख पाएका र जसकारण विद्यामान व्यवस्थाप्रति नै नकारात्मक असर गरेको बताए । 

गत शुक्रबार राष्ट्रपति भण्डारी संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न नयाँबानेश्वरस्थित संसद भवनमा पुगेकी थिइन् । राष्ट्रपति भण्डारीको सवारी चलाउँदा सडक खाली गरिएको थियो । 

सो समयमा सुरक्षाकर्मीबाट चिकित्सक कुटिएकोदेखि एम्बुलेन्ससमेत रोकिएको विषयले जनताको गणतन्त्रप्रति नै आक्रोश बढेको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन् ।

बैठकको शून्य समयमा बोल्दै रघुजी पन्त, मुक्ताकुमारी यादवलगायतका सांसदहरुले सरकारको आलोचना गरेका हुन् । 

जनतालाई असहज नहुनेगरी विशिष्ट व्यक्तिको सवारी चलाउनुपर्ने भन्दै सांसद पन्तले राष्ट्रपतिको सवारी चलाउँदा भएको जामका कारण सरकार, संसद र राष्ट्रपतिप्रति नकारात्मक टिप्पणी भएको बताए । 



प्रधानमन्त्रीको तहबाट समस्या समाधानमा पहल हुनुपर्ने बताएका उनले लोकतन्त्रमा विशिष्ट व्यक्तिको सवारी चलाउने मापदण्ड खुकुलो हुनुपर्ने बताए । 

सांसद मुक्ताकुमार यादवले लडेर ल्याएको लोकतन्त्र यही हो भन्दै प्रश्नसमेत गरिन् । जनतालाई दुःख नपर्नेगरी विशिष्ट व्यक्तिको सवारी चलाउने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । 
 



  • प्रकाशित मिति : माघ २९, २०७९ आइतबार १६:२४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया