माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई पक्रन आदेश

माले– माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई सोमबार पक्राउ गर्न आदेश दिइएको छ । 

सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा उनलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरूले जनाएका छन् । माल्दिभ्सको एउटा अदालतले गरेको प्रारम्भिक सुुनुवाइमा नै उनले सम्पत्ति शुद्धीकरण गरेको देखिएकाले पक्राउ गर्न आदेश दिएको समाचारमा उल्लेख छ । 

उनले आफू राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिनुअघि १० लाख ५० हजार डलर सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ । उनलाई पक्राउ गर्न आदेश दिने अदालतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शक्ति र पदको दुरुपयोग गरेर यमिनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अवैध काम परेको प्रमाण र आधार पेस भएका छन् ।’ 

राजधानीनजिकै रहेको धुनिधु कारागारमा उनलाई राख्न सकिने पनि अधिकारीहरूले जानकारी दिएका छन् । माल्दिभ्समा निकै प्रभावशाली नेता मानिने यमिन सन् २०१३ देखि शक्तिमा आएका थिए । त्यसपछि उनले आफ्ना विपक्षीलाई अनेक अभियोग लगाउँदै कारागार पठाउन लगाएका थिए । 

आफ्नो कार्यकालमा चीनसँग राम्रो सम्बन्ध बनाएका यमिनविरुद्ध अन्य पनि अभियोग लगाइएको छ । तर, पूर्वराष्ट्रपति यमिनले भने आफूविरुद्धका सबै आरोपको खण्डन गर्दै आएका छन् ।

चोरी, घुस र आर्थिक अपचलनसम्बन्धी ठूलो अभियोग लगाउँदै केही दिनपहिले उनका विरुद्धमा प्रहरीले महान्याधिवक्ताको कार्यालयमार्फत मुद्दा दर्ता गरेको थियो । नयाँ राष्ट्रपति इब्राहिम सोलिह नेतृत्वको सरकारले केही हप्तापहिलो एक वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपति यमिनको कार्यकालमा भएका अनियमितता वा राज्यशक्तिको दुरुपयोगसम्बन्धी कुनै विवरण वा प्रमाण भएमा उपलब्ध गराउन आह्वान गरेको थियो । 



वक्तव्यमार्फत गरिएको आह्वानअनुसार प्राप्त अनियमिततासम्बन्धी केही विवरण राष्ट्रपतिको कार्यालयले गत जनवरीको सुरुआती दिनमै सार्वजनिक गरेको थियो । गत २३ सेप्टेम्बरमा भएको निर्वाचनबाट सोलिह राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

अहिले भ्रष्टाचारको अभियोग लागेका पूर्वराष्ट्रपति यमिनले भने निर्वाचनमा धाँधली भएको भन्दै सुरुमा मतपरिणाम अस्वीकार गरेका थिए । तर, अदालतको फैसलापछि मात्र उनले आफ्नो पराजयलाई स्वीकार गर्दै राष्ट्रपतिको पद हस्तान्तरण गरेका थिए ।
 



  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १०:५६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया