राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई सघाउने, कांग्रेस उत्साहित
फाइल तस्वीर ।

नेपाली राष्ट्रिय राजनीतिमा राष्ट्रपति निर्वाचनपछि नयाँ कोर्स सुरुवात हुने अनुमान गर्न थालिएको छ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि हुने निर्वाचनमा अहिलेको सत्ता गठबन्धनलाई छाडेर नेपाली कांग्रेसका उम्मेदवरालाई सघाउने निर्णय गर्ने तयारी गरेपछि यो अनुमान गर्न थालिएको हो । 

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसले प्रस्ताव गरेको उम्मेदवारलाई सहयोग गर्ने नेपाली कांग्रेसकै केही शीर्ष नेताहरुलाई ‘वचन’ दिइसकेका छन् ।

१३ फागुनमा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची आइसकेकाले नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा कांग्रेसबाट हुने उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने तयारीसमेत गरेको छ । यसका लागि केही दिनमा नै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने तयारीसमेत गरिएको छ ।

नेकपा माओवादी केन्द्रका अन्य नेताहरुले पनि कांग्रेसले पनि प्रचण्डको यो चाहनालाई सकारात्मक रुपमा लिएको भन्दै कांग्रेस प्रचण्डको यो प्रस्तावबाट उत्साहित भएकोसमेत बताउन थालेका छन् ।

‘राजनीतिमा हामीले स्थायित्व खोज्नु पर्छ,’ नेकपा माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले फरकधारलाई बताए, ‘अहिलेको गठबन्धनमा सरकारलाई पूर्णरुपमा काम गर्न दिन छाडेर शक्ति बाँडफाँटमा नेकपा एमालेले आफूलाई अनुकूल हुने निर्णय तथा काम मात्र गरेको छ, त्यसैले यो गठबन्धन अब लामो समय जाँदैन भन्ने अनुमानहरु केही हदसम्म सही देखिन्छ ।’

उनले अहिलेसम्म नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसकै उम्मेदवारलाई सहयोग गर्ने औपचारिक छलफल नभएको तर शक्ति सन्तुलनका लागि यस्तो गर्न सकिने सम्भावना रहेको बताएका छन् ।



‘पछिल्लो समय गठबन्धनमा एमालेले जे गर्न खोजिरहेको छ,’ उनले भने, ‘त्यसले यो गठबन्धन लामो समय जाला भन्ने सम्भावना देखिँदैन । त्यसैले माओवादी केन्द्रले ४ मंसिरअघिको गठबन्धनलाई ब्यूँत्याएर अगाडि बढ्ने सम्भावना छ ।’

नेपाली कांग्रेसका एक नेता तथा सांसदले पनि केही दिन यता यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अनौपचारिक छलफल भइरहेको बताएका छन् । आफैं पनि एक चरणको छलफलमा बसेको भन्दै उनले प्रचण्डले राष्ट्रपतिमा प्राथमिकतामा गैरसांसद व्यक्तिलाई राखेको बताए । 



त्यो व्यक्ति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई वा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ जो पनि हुनसक्ने उनले बताए । ‘आफ्नो यो प्रस्तावमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति नजनाए उनी कांग्रेससँग गठबन्धन गर्न तयार रहेको बुझ्न सकिन्छ,’ ती नेताले बताए, ‘कांग्रेसबाट जसको नाम प्रस्तावित भए पनि आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने सर्त राखेर उनले यसमा सहमति जनाउन सक्छन् ।’

पछिल्लो समय प्रचण्डले एमाले अध्यक्ष ओलीका कारण आफू छायामा परेको अनुभूत गर्न थालेको बताउँदै उनले भने, ‘सत्तामा रहेर पनि प्रचण्डले प्रधानमन्त्री जस्तो महसुस गर्न पाएका छैनन्, गठबन्धनका अधिकांश निर्णय ओलीबाट निर्देशित छन्, यसबाट उनी आजित भइसकेका छन् ।’

  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार १९:१९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया