माधव नेपाललाई राष्ट्रपतिमा ‘प्रस्ताव’ गर्नुको ओली अन्तर्य
फाइल तस्वीर ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै प्रस्ताव गरेको समाचार बाहिरिएपछि राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ ।

झन्डै ३ वर्षअघि यी दुई नेता एकअर्कासँग गम्भीर विमति राख्दै छुट्टिएका थिए । ४ मंसिरमा भएको निर्वाचन यता सरकार गठन प्रक्रिया तथा अन्य राजनीतिक भेटघाट तथा छलफलमा समेत केपी शर्मा ओलीले बारम्बार नेपाललाई ‘बेवास्ता’ गर्दै आएका थिए । 

१० पुसमा प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि लामो समयसम्म उनले सरकारमा नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि समावेश गर्न खोजेका थिए । तर, एमाले अध्यक्ष ओलीको अडानका कारण नेपाललाई सरकारमा ल्याउन सकेनन्, प्रचण्डले ।

तिनै ओलीले अचानक राष्ट्रपतिमा नेपालको नाम लिँदा अहिले प्रचण्ड स्वयं ‘आश्चर्य’मा परेका छन् । अहिलेको सत्ता गठबन्धनबाट अलग्गिएर नेपाली कांग्रेससँग मिलेर सरकारको नेतृत्व गर्ने ध्येय बनाएका प्रचण्डले ओलीको यो प्रस्तावसँगै कांग्रेस नेताहरुसँग पनि संवादलाई अगाडि बढाएका छन् ।

केही समयअघिसम्म नेपाललाई ‘देखि नसहने’ ओलीले अचानक किन राष्ट्रपतिमा उनकै नाम लिए त ?

‘प्रचण्डले कुनै पनि हालतमा ओलीनिकट नेकपा एमालेका नेताहरुलाई राष्ट्रपतिमा समर्थन नगर्ने अडान लिएपछि ओली यो अवस्थामा पुगेका हुन्,’ ओली–प्रचण्ड संवादबारे जानकार एक नेताले फरकधारलाई बताए, ‘ओलीले राष्ट्रपतिका लागि केशव बडाल, विष्णु रिमाल, डोरमणि पौडेल, सुवास नेम्वाङको नाम लिएका थिए ।’



यी नामहरुमा सुवास नेम्वाङको नाममा केही लचक देखिएका थिए, प्रचण्ड । तर, उनले केही दिनअघि बालकोटमा भएको ओलीसँगको भेटमा प्रतिप्रश्न गरे, ‘कांग्रेस सांसदको सबैभन्दा ठूलो दल हो, राष्ट्रपतिमा उसलाई पनि मनाएर लैजान सके राष्ट्रिय सहमतिको हुन्थ्यो, यसले देशलाई फाइदा नै गर्छ नि होइन र ?’

प्रचण्डको यस्तो प्र्रतिप्रश्नबाट झस्किए ओली ।



त्यसपछि उनले प्रचण्डलाई भने– त्यसो हो भने माधवकुमार नेपाल, झलनाथ खनाललाई बनाउने त राष्ट्रपति ?

प्रचण्डले ओलीलाई जवाफ दिए, ‘माधवकुमार नेपाललाई तपाईंले प्रस्ताव गर्ने हो भने म साथीहरुसँग सल्लाह गर्छु, एकपटक कांग्रेसका नेताहरुसँग पनि छलफल गर्छु ।’

नेपाललाई राष्ट्रपति बनाएर नेकपा एकीकृत समाजवादीका सांसदहरुलाई फेरि नेकपा एमालेमा नै ल्याएमा आफ्नो दल संसदको सबैभन्दा ठूलो दल बन्ने जोडघटाउ पनि ओलीले बुझेका छन् । त्यसैले उनले नेपालसँग भएको गोप्य भेटमा सोझै प्रस्ताव गरेका छन्, ‘पार्टी एकता गरौँ, राष्ट्रपतिमा एमालेबाट तपाईंलाई उम्मेदवार बनाउँला ।’

नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन सकेको खण्डमा प्रचण्डमाथि दबाब कायम राख्न सकिने र आफू सरकारबाट बाहिरिनु नपर्ने रणनीति बनाएका छन्, ओलीले । 

कांग्रेस नेताहरुसँग यसबारे छलफलमा प्रचण्ड जुटेका छन् । उनले नेपाल राष्ट्रपतिका लागि उम्मेदवार बनेकै खण्डमा पनि कांग्रेसबाट कृष्णप्रसाद सिटौला उम्मेदवार बनेमा उनलाई माओवादी केन्द्रले साथ दिने संकेत गरेका छन् ।


  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १२:५२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया