सत्ताका लागि एमाले जस्तोसुकै सम्झौता गर्दैन : ओली
फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम सत्य मान्ने भ्रमबाट आफ्नो पार्टी मुक्त रहेको बताएका छन् ।

एमालेको संगठन सुदृढीकरणका लागि सञ्चालित ‘मिसन ग्रासरूट’ अभियानका सन्दर्भमा ‘निर्वाचनपछिको राष्ट्रिय राजनीति, नयाँ सत्ता सहकार्य, अवसर एवं चुनौती’बारे उल्लेख गर्दै उनले गत पुस १० गते सहमतिका आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा राजनीतिक दलको शक्ति सन्तुलनमा सरकार गठन हुनु राजनीतिमा आएको सकारात्मक परिवर्तन भएको बताए । 

सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिसकेको भन्दै उनले पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको बताए । उनले भने, ‘विदेशी मुद्रा सञ्चितिमा सुधार, विप्रेषणमा वृद्धि एवं अनावश्यक खर्च कटौती जस्ता सुधारका कदमले सङ्कटग्रस्त अर्थतन्त्रका क्षेत्रमा सकारात्मक सुधार देखिनुका साथै प्रदेशमा १६ वटा मन्त्रालय घटाउने निर्णयले जनतामा राम्रो प्रभाव परेको छ ।’ 

वर्तमान सरकारका काम सकारात्मक रहेको टिप्पणी गर्दै उनले अहिलेको सत्ता सहकार्यलाई भत्काएर पुरानै गठबन्धन स्थापित गर्ने र नेपाललाई अस्थिरतातिर धकेल्ने काम भएको र यसले लोकतन्त्रलाई कमजोर बनाउने बताए । 

अध्यक्ष ओलीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न, लोकतन्त्रलाई सुदृढ र परिणाममुखी बनाउन तथा जनतालाई परिवर्तनको अनुभूतिसहित सुशासन र समृद्धिको यात्रामा लैजान एमाले सदैव लागिरहेको बताए ।

उनले पार्टी राष्ट्रियहित, स्वाभिमान र परिणाममुखी नतिजाका लागि जनताका पक्षमा उभिएको पनि उक्त निर्देशनमा उल्लेख गरे । दाउपेच, षड्यन्त्र र विश्वासघातमाथि आधारित राजनीतिको आयु लामो नहुने पनि अध्यक्ष ओलीको भनाइ छ । 





  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार १२:५४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया