नयाँदिल्ली– पुलवामा हमलाबारे पाकिस्तानका प्रधानमन्त्रीले दिएको प्रतिक्रियामाथि भारतीय विदेश मन्त्रालयले कडा टिप्पणी गरेको छ ।
भारतीय विदेश मन्त्रालयले हमलामा पाकिस्तानको कुनै हात नरहेको र भारतले सबुत दिए अनुसन्धान गर्ने पाकिस्तानी प्रधानमन्त्री इमरानको बयानलाई एक कमजोर बहाना भनेको छ ।
सबै आतंककारी हमलामा पाकिस्तानले आफ्नो संलग्नता नरहेको बताउँदै आएको भन्दै भारतीय विदेश मन्त्रालयले पाकिस्तानी प्रधानमन्त्रीले आफ्नो बयानमा हमलाकारी संगठन जैस–ए–मोहम्मदको दाबीलाई समेत उपेक्षा गरेको बताएको छ ।
भारतका अनुसार जैस–ए–मोहम्मद र यसका नेता मसुद अजहरको ठेगाना पाकिस्तान हो, र यो दुनियाँसँग छिपेको छैन ।
यसअघि, हमलाबारे प्रतिक्रिया दिँदै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यस मामलामा भारतसँग कुनै सबुत भए आफूलाई दिन भनेका थिए । घटनाबारे अनुसन्धान गर्न सहज हुने भन्दै उनले सबुत दिन भारतलाई आह्वान गरेका हुन् ।
भारतीय विदेश मन्त्रालयले भने सन् २०११ मा भएको मुम्बई हमलाको सबुत पाकिस्तानलाई दिएपछि पनि १० वर्षसम्म त्यस मामलामा कुनै प्रगति नभएको भन्दै यो पाकिस्तानी प्रधानमन्त्रीको कमजोर बहाना मात्र भएको बताएको छ ।
५ दिनअघि भारतको जम्मु–श्रीनगर राजमार्गअन्तर्गत पुलवामा जिल्लामा पर्ने लेथपोरामा भारतीय सुरक्षकर्मी बोकेका गाडीको लहरमाथि आत्मघाती बम हमलाकारीले हमला गरेका थिए । हमलामा ४० सुरक्षाकर्मी मारिएका थिए । घटनामा पाकिस्तानको संलग्नता रहेको भारतले आरोप लगाउँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।