राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने अडानका साथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दौडधूप गरिरहेका छन् । यस विषयमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनि बालुवाटार पुगेका छन् ।
आज बिहान चार दलबीच पुरानो गठबन्धन ब्युँताउने बारे प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहित विभिन्न चार दलसँग छलफल गरेपछि दिउँसो ओली बालुवाटार पुगेका हुन् । पुरानै गठबन्धन ब्यूँतिने डरमा ओली छन् । ओली प्रचण्डबीचको यो भेटमा निर्णायक छलफल हुने बताइएको छ ।
ओलीले मंसिर १० गतेको सहमति अनुसार आफ्नो पार्टीले नै राष्ट्रपति पाउनुपर्ने अडान राखिराखेका छन् भने प्रचण्डले सहमतिका आधारमा राष्ट्रपति हुनुपर्ने बताउँदै आएका छन् ।
शुक्रबार बिहान कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्यूँताउने बारे छलफल भएको थियो । यसबारे थप छलफल गर्न आज साँझ पुनः बैठक बस्ने सहमति भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।