फागुन २५ गतेसम्म सत्ता गठबन्धनलाई निरन्तरता दिने एमालेको निर्णय

नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनसम्मका लागि अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । 

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको १७औँ सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते भएकाले उक्त समयसम्म अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

‘यही फागुन २५ गतेसम्म राष्ट्रपति चयनको मिति तोकिएकाले त्यो बेलासम्म यही गठबन्धनलाई निरन्तरता दिन्छौँ,’ बैठक पछि उनले भने, ‘पुस १० गते जे सहमति भएको थियो । त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेका छौँ ।’ उनले अहिले सत्तारुढ दलको गठबन्धन नटुटेको समेत बताए ।

गत पुस १० गते नेकपा (माओवादी केन्द्र)सहित सत्तारुढ दलसँगको छलफलमा  एमालेले राष्ट्रपति पाउने सहमति भएअनुसार नै एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ । ‘हामीले पुस १० गतेको सहमतिअनुसार नै हाम्रो पार्टीका तर्फबाट उपाध्यक्ष नेम्बाङलाई उम्मेदवार बनाएका छौँ,’ उनले भने, ‘हामी पुस १० गते जे निर्णय भएको थियो । त्यसैमा जानु पर्दछ भन्ने हाम्रो जोड छ ।’

कांग्रेसबाहेक अन्य दलसँग राष्ट्रपति उम्मेदवारी विषयमा छलफल गर्ने
नेम्वाङलाई जिताउनका लागि नेपाली कांग्रेसबाहेकका राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।

‘पार्टीले उठाएको राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई समर्थन गर्नका लागि कांग्रेसको आफ्नो उम्मेदवार भएका कारण कांग्रेसबाहेक सबै पार्टीलाई आजै हामीले सहयोगका लागि पत्राचार गर्ने छौँ,’ उनले भने, ‘सबै पार्टीसँग सहयोगका लागि निरन्तररुपमा छलफल जारी राख्ने छौँ । कांग्रेसबाहेक सबै दललाई राष्ट्रपतिमा हामीलाई सहयोग गर्नका लागि सहमतिमा ल्याउने प्रयत्न गर्ने छौँ ।’





  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार १३:२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया