\
नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका थिए ।
उनको प्रस्तावकमा अध्यक्ष ओली नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् । यसैगरी उनको समर्थकमा पार्टीका नेताहरू योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन् ।
इलाम नगरपालिका-७ सुन्तलाबारीमा विसं २००९ फागुन २८ गते जन्मेका नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका थिए । विसं २०२८ बाट राजनीतिमा निरन्तर क्रियाशील नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै हाल उपाध्यक्ष रहेका छन् । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य बन्नुभएका उनी त्यसलगत्तै पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम-२ बाट निर्वाचित उनि संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम-२ बाट निर्वाचित भएका थिए ।
प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा इलाम-२ बाट लगातार निर्वाचित भएका नेम्वाङ एमाले संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए ।
नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष/सभामुख र २०७२ सालमा रुपान्तरित व्यवस्थापिकाको सभामुख भएका थिए । विसं २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उनि सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भएका थिए ।
राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय (वरिष्ठ अधिवक्ता) रहेका उनले पञ्चायती निरङ्कुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटकपटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्द परेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।