logo-img

आजदेखि ‘जनतासँग पार्टी अभियान’ सुरु गर्दै माओवादी केन्द्र

सत्तारुढ नेकपा माओवादी केन्द्रले आजदेखि गण्डकी प्रदेशका सबै जिल्लामा ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने भएको छ । सहिद सप्ताहको पहिलो दिन पारेर सुरुआत भएको अभियान प्रदेशका सबै जिल्लामा एकसाथ सञ्चालन गर्न लागिएको माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङले बताइन् । 

उनका अनुसार केही दिनअघि बसेको प्रदेशको छैटौँ पूर्ण बैठकले केन्द्रीय योजनाअनुसार प्रदेशमा अभियान चलाउने निर्णय गरेको हो । यस क्रममा पार्टीका सबै नेता, कार्यकर्ता दुई महिना जनता, सहिद परिवार, घाइते र बेपत्ता योद्धाका परिवारका बीचमा गएर पार्टी पुनः निर्माणका बारेमा सुझाव लिनेछन् ।  

‘यो अभियान प्रदेशका १८ प्रतिनिधिसभा र ३६ प्रदेश सभा निर्वाचन केन्द्रित कार्यक्रममा पार्टी केन्द्रीय सदस्य साथ पार्टी प्रदेश पदाधिकारीको प्रत्यक्ष कमाण्डमा एकैपटक सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा चल्नेछ । मुख्यगरी पार्टीको सबै शक्तिलाई जनतासँग जोड्ने र उनीहरूका सुझाव लिने उद्देश्य अभियानको हो,’ अध्यक्ष  गुरुङले भनिन् ।

माओवादीले अभियानका लागि ‘टिप्पणी सुझाव र सङ्गठनका लागि नेता, कार्यकर्ता र जनतासँग भेट गरौँ, विचार र नेतृत्वका आधारमा सङ्गठित तागत निर्माण र समृद्धिमा जोड गरौँ’ भन्ने नारा अघि सारेको छ । दुई महिनाको अभियानमा माओवादीले स्थानीय तह जितेका ठाउँमा पार्टीको चुनावी प्रतिबद्धतासहितको समाजवादको आधार तयार पार्ने योजना लागू गर्न योजनाबद्ध काम गर्ने, विजय हासिल नभएका ठाउँमा जनताका समस्या हल गर्न पालिकाहरूमा पहल गर्ने भएको छ ।

यसैगरी जनयुद्धका पूर्णकालीन र पार्टीका एकता भएपछि सबै पुराना छुटेका कार्यकर्ताहरूसँग र जेल हिरासतमा परेकाहरूको सूची तयार पारी घर–घरमा गएर भेटघाट गर्ने, सुझाव लिने र पार्टीमा पुनः सङ्गठित गर्ने अभियानको योजना रहेको माओवादीले जनाएको छ ।  





  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया