एमालेले मधेस सरकारलाई दिएको समर्थन कायमै राख्ने
फाइल तस्बिर

नेकपा एमाले मधेस प्रदेशले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार बसेको सचिवालय बैठकले केन्द्र सरकारबाट मात्र बाहिरिने निर्णय गरेको हो ।

फरकधारसँग संक्षिप्त कुरा गर्दै एमालेका उपमहासचिव विष्णु रिजालले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशको हकमा त्यस्तो कुनै निर्णय नभएको जानकारी दिएका छन् । 

त्यस्तै, नेकपा एमाले मधेस प्रदेशका संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले पनि प्रदेश सरकारबाट नेकपा एमाले अहिले नबाहिरिने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘प्रदेशमा भने अहिले तत्काल हाम्रो समर्थन कायमै रहने छ । केन्द्रको निर्देशनानुसार हामी अगाडि बढ्ने छौँ ।’ 

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा नेकपा एमालेका २५ जना सांसद छन् । मधेस सरकारमा हाल एमालेका चारजना मन्त्री र सभामुख छन् । यहाँ सरकार निर्माणमा बहुमतका लागि ५४ जना सांसदको आवश्यकता रहे पनि जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने उनले सिंगो सदनको विश्वासको मतसमेत पाएका थिए ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको थियो । पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थिएन । 

पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सांसदको समर्थन पाएका थिए । 





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १४:४३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया