एजेन्सी– इमरान खानले पुलवामा आक्रमणबारे भारतले लगाएको आरोप खण्डन गर्दै दिएको प्रतिक्रियापछि उनकी पूर्वपत्नी रेहम खानले इमरान पाकिस्तानी सेनाको ‘कठपुतली’ भएको आरोप लगाएकी छन् ।
मंगलबार इमरानले भारतको विषयमा बोलेको केही समयपछि उनले यस्तो आरोप लगाउँदै प्रतिक्रिया दिएकी हुन् । उनले भनेकी छन् ‘इमरान पाकिस्तानी सेनाका ‘कठपुतली’ हुन्, उनी यो बयान दिनका लागि सेनाको आदेश कुरिरहेका थिए ।’
रेहमले भनिन् ‘उनी वैचारिक सम्झौता र ‘मोडेरेट पोलिसी’ बाट सत्तामा आएका हुन्, यो उनको नीति हो भनेर सोच्न नि सकिँदैन् । उनी राज्यले जे चाहन्छ र जस्तो चाहन्छ त्यस कै लागि बनाइएका हुन् । हामीले चुनावको बेला देखेका थियौं, पाकिस्तानमा धेरै उग्रवादी धार्मिक पार्टीहरु उदाएका थिए र इस्लामबादमा हिंसा र विरोधका घटनाहरु धेरै भएका थिए ।’
रेहम खानले इमरानलाई जे पढाइएको छ, उनले त्यही बोलेको बताएकी छन् । ‘इमरानको प्रतिक्रिया केही थिंक ट्यांकले लेख्दिएका हुन्, मलाई लाग्दैन यो उनी आफैं भनेका हुन् ।’ उनले भन्छिन् ‘ भारतीय प्रधानमन्त्रीले भनेर मात्र होइन, हामीले यो घटनाबारे एक्सन लिनैपर्छ । इमरानले दिएको प्रतिक्रिया सकारात्मक भएपनि उनले यी ६ महिनामा आतंकवादविरुद्ध केही गरेको हामीले देखेका छैनौं ।
फेबु्रअरी १४ मा काश्मिरको पुलवामा जिल्लामा पाकिस्तानी चरमपन्थी संगठन जैस ए मोहम्मदको समूहले गराएको आत्मघाती बम विस्फोटमा परी ४० जना भारतीय सैनिकको मृत्यु भएको थियो । भारतले यो घटनामा पाकिस्तान पूर्ण रुपमा जिम्मेवार रहेको र आफूहरुले यसको बदला पाकिस्तानसँग लिने बताएको थियो ।
भारतको उक्त चेतावनी पछि पहिलो पटक इमरानले भारतले आक्रमण गरे आफूहरु पनि केही नसोची त्यसको जवाफ दिने बताएका थिए । उनले भारतले आफूहरुमाथि बिना प्रमाण आरोप लगाएको पनि भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।