मुख्यमन्त्री शाहलाई माओवादी र नाउपा पनि विश्वासको मत दिन तयार

नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन तयार भएका छन् ।

यसअघि यथास्थितिमा मत नदिने विश्वासको मत नदिने अडानमा रहेका यी दुई दलले अन्ततः मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने भएका हुन् ।    

नाउपा केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री शाहलाई आफ्नो पार्टीले विश्वासको मत दिने निर्णय भएको जानकारी दिइन् । त्यसअघि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम माओवादीलाई मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन दिएका थिए । 

शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो ।   

माओवादी र नाउपा आफ्नो अडानबाट पछि हटेसँगै मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट दुई तिहाइ मत पाउने देखिएको छ । आठ दलीय गठबन्धनमा सहभागी दलसहित एक स्वतन्त्र प्रदेश सभा सदस्यले मत दिँदा मुख्यमन्त्री शाहले ४१ मत पाउनेछन् । जो प्रदेश सभाको दुई तिहाइ मत हो ।  

गठबन्धनका दलहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेश सभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिने भएका छन् । 



२७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल विश्वासको मत नपाउँदा २९ दिनमै पदमुक्त भएका थिए । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

२६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुसार आज शाहले विश्वासको मत लिँदै छन् ।



५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको आवश्यकता पर्दछ । कांग्रेसका १९, माओवादीका ११ (सभामुख), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन् प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र एक/एक सांसद छन् ।  

  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार १२:२१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया