कुकुरमा ‘पार्वो भाइरस’ संक्रमण पुष्टि
फाइल तस्बिर

चितवनमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । 

अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा  भाइरस देखिएको केन्द्रका सूचना अधिकारी डा. प्रभात न्यौपानेले बताए । मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो । 

घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको उनले बताए । यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उनको भनाइ छ ।

पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण देखापर्ने न्यौपानेले बताए । सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुरको मृत्यु हुने गर्दछ । 

कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखापर्ने गर्दछ । कुकुरलाई डिएचएलपिपी नामक खोप नियमित पाँच वटा दिएमा यस्ता सङ्क्रमण नहुने न्यौपानेले बताए ।

अधिकांश घरपालुवा कुकुरमा नियमित खोप लगाउने अभ्यास नभएकाले यस्तो खालको समस्या देखिने गरेको उनले जानकारी दिए । कुकुरलाई जन्मिएको छदेखि आठ हप्तामा पार्वोविरुद्धको नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ । 





  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार ९:४९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया