नागरिकमा उत्साह जगाउन भूमिका खेल्छु : नवनिर्वाचित राष्ट्रपति पौडेल

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकमा उत्साह जगाउन राष्ट्राध्यक्षको हैसियतबाट आफूले भूमिका खेल्ने बताएका छन् । 

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा रहेको बिपी सङ्ग्रहालयमा आज बिपी कोइरालालगायतका नेताको शालिकमा माल्यार्पणपछि आयोजित कार्यक्रममा नवनिर्वाचित राष्ट्रपति पौडेलले जनतामा आशा र उत्साहको सञ्चार गरेर मुलुकमा नयाँ जागृति ल्याउनुपर्ने बताए । 

राजनैतिक स्थायित्व र मुलुकको सुशासनमा सबैको ध्यान जान आवश्यक रहेको उनले बताए । बिपी कोइराला लगायतका नेताप्रति सम्मान व्यक्त गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले जनताले प्राप्त गरेको अधिकारमाथि कसैले पनि खेलबाड गर्न नहुने र संविधानको संरक्षकको भूमिकामा रहेर आफूले त्यो भूमिका निर्वाह गर्ने बताए ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, देवानसिंह राई र योगेन्द्र शेरचनको शालिकमा उहाँले माल्यार्पण गर्नुका साथै जकरण्ड नामको वृक्षरोपण गरेका थिए ।

त्यस अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, वाग्मती प्रदेशसभा सदस्य विमल ठकुरीलगायत सङ्ग्रहालय समितिका पदाधिकारी र सदस्यले स्वागत गरेका थिए ।  





  • प्रकाशित मिति : फागुन २६, २०७९ शुक्रबार १८:१५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया