महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ ।
तीन दलबीच जनमतबाट उपराष्ट्रपति उम्मेदवार ममता झालाई समर्थन गर्ने सहमति भएको छ । सो समर्थनपछि आगामी दिनमा कार्यगत एकता गर्ने निर्णय भएको हो ।
तीन दलबीच भएको सहमतिपत्रमा भनिएको छ– ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति सहमति भएको छ ।’
सहमति पत्रमा जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको हस्ताक्षर छ ।
यसअघि पनि जनमत र रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
तराई–मधेशमा उपेन्द्र यादव नेतृत्वको जसपालाई एक्ल्याउने रणनीतिअनुरुप तीन दलबीच कार्यगत एकताको सहमति भएको हो । तीन दलको निर्णयपछि आठदलीय गठबन्धनबाट उपराष्ट्रपतिको साझा उम्मेदवार बन्ला भन्नेमा संशय पैदा भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।