गाउँपालिकाको ताला फोडेर कार्यालयका सामग्री हिनामिना

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको कार्यालयमा लगाइएको ताला फोडेर कार्यालयका सामग्रीहरू हिनामिना गरिएको आरोप लगाइएको छ । 

गत फागुन १४ गते प्रमुख प्रशासकिय अधिकृत र लेखाशाखाको कर्मचारीको कार्यकक्षमा वडाध्यक्षहरूले लगाएको ताला फोडेर कार्यालयका महत्वपूर्ण सामानहरू हिनामिना गरिएको आरोप लगाइएको हो । वडा नम्बर–१ का वडाध्यक्ष दिलिप यादवले प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले ताला फोडेर सामानहरू हिनामिना गरेको आरोप लगाए । 

उनले सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृत यादवले बिना कुनै जनप्रतिनिधिको रोहबरमा ताला फोडेर कार्यालयका सामानहरू हिनामिना गरेको आरोप लगाएका छन् । 

आफूहरूले तालाबन्दी गरेको दुई दिनपश्चात गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले सम्पूर्ण जनप्रतिनिधिलाई बोलाएर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपनि अहिलेसम्म कुनै समन्वय नगरेको उनले बताए । 

तालाबन्दी गरेको १५ दिन बितेपनि सहमतिमा नआई आइतबार प्रमुख प्रशासकीय अधिकृत यादवले स्थानीय प्रशासनको रोहबरमा आफूहरूलाई कुनै जानकारी नै नदिई उल्टै ताला फोडेको वडाध्यक्ष यादवको गुनासो छ । 

उनले गाउँपालिका अध्यक्ष मिश्र र प्रमुख प्रशासकीय अधिकृत यादवले सहमतिको वातावरण निर्माण नगरी उल्टै ताला फोडेर हैकमबादी प्रवृति देखाएको आरोपसमेत लगाए । 



वडा नम्बर–१ का वडाध्यक्ष दिलिप यादव, वडा नम्बर–५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर–६ का वडाध्यक्ष महाविर साह र वडा नम्बर–७ का वडाध्यक्ष गंगा साहलगायतकाहरूले आइतबार प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष र लेखाशाखामा पुनः तालाबन्दी गरेका छन् । 

यता, प्रमुख प्रशासकीय अधिकृतले आफूले ताला नफोडेको दाबी गरेका छन् । 
वडाध्यक्ष दिलिप यादवले दिउँसो २ बजेसम्म पनि प्रमुख प्रशासकिय अधिकृत यादव र फाँटका कर्मचारीहरू कार्यालयमा उपस्थित नभएकोले गाउँपालिकाका जनताहरू काम नै नगराई खालि हात घर फर्किन बाध्य हुँदा आफूहरूले तालाबन्दी गरेको बताए । 



उनले भने, ‘दिउँसो २ बजेसम्म पनि कार्यालय नआउने हाकिम र कर्मचारीको के काम ? जनताको काम हुनुपर्नेमा कर्मचारी नै नआउँदा सबै आजित भएका छन् । जनताको कामका लागि हामी कुटाई खान पनि तयार छौं । समस्या समाधान नभए भोलिको दिनमा हामी थप सशक्त आन्दोलन गर्नेछौं ।’  

उनले लक्ष्मीनियाँ गाउँपालिकामा करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमूना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले निर्णय गरेको भएपनि अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव मिलेर करारका कर्मचारी नहटाई खुला प्रतिस्पर्धा नै नगरेर आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आरोपसमेत लगाए । 

वडाध्यक्ष यादवले रोजगार सहायक, एमआईएस अपरेटरलगायतका पदका लागि दरखास्त आह्वान गरिएपनि नतिजा प्रकाशन थर्दा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले आर्थिक चलखेल गरी नातावाद कृपावाद गरेको आरोप लगाए । 

वडाध्यक्ष यादवले सरूवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत सबिर महतोलाई गाउँपालिका अध्यक्ष मिश्रले हाजिरसमेत हुन नदिएको आरोप लगाएका छन् ।

  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार २१:३६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया