अब एप्सबाटै कन्सुलर सेवा

काठमाण्डौं– भौगोलिक कठिनाइ र अन्य समस्यालाई ध्यानमा राख्दै कन्सुलर सेवा विभागले ‘नेपाल कन्सुलर मोबाइल एप’सञ्चालनमा ल्याएको छ । अब सोवाग्राहीले एपमार्फत घरबाटै सम्पूर्ण कन्सुलर सेवा लिन सक्नेछन् ।  

बुधबार एक कार्यक्रमबीच एपको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीमा समस्या देखिएको बेला पीडित र रोजगारीमा गएकाको परिवारलाई प्रभावकारी सेवा दिन एप्सको निर्माण गर्नु उदाहरणीय काम भएको बताए ।

अहिले सरकारी सेवामा पनि डिजिटल प्रविधि भित्रिएर सेवा विस्तार हुँदै जाँदा नेपालले नयाँ फड्को मारिरहेको परराष्ट्र सचिव शंकरदास बैरागीले बताए । विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले दुर्गम क्षेत्रका जनतालाई काठमाडौंसम्म धाउनुपर्ने बाध्यताबाट मुक्ति दिन विभागले नयाँ एप्सलाई सञ्चालनमा ल्याएको जानकारी दिए । वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीको निवेदनसमेत उनीहरुका परिवारले एपमार्फत तत्काल विभागमा पठाउन सक्ने उनले बताए । 

एप्समार्फत वैदेशिक रोजगारीमा गएर समस्यामा परेका कामदारले तत्काल त्यसबारे जानकारी विभागमा गराउन सक्नेछन् । साथै, विभिन्न देशमा रहेका नागरिकले कन्सुलर विभागबाट लिनुपर्ने विविध कानुनी सेवा एप्सबाटै लिन सक्नेछन् ।

अबदेखि विदेशमा हराएका नागरिकको खोजतलास र उद्धार, विदेशमा मृत्यु भएकाको शव झिकाउने, मृतकका परिवार र घाइतेले पाउनुपर्ने क्षतिपूर्ति, अधिकृत वारेसनामाजस्ता सेवाका लागि एप्सबाटै आवेदन गर्न सकिने विभागले जनाएको छ । 

उक्त एप्स एन्ड्रोयड मोबाइलमार्फत विभागको नेपाल कन्सुलरको पेजमा गएर डाउनलोड गर्न सकिन्छ ।





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १९:३५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया