काठमाडौं– एउटा सानो कोठा दुई भागमा बाँडिएको छ । एकातिर विद्यार्थी भरिएका छन् भने अर्कोमा तीन–चारजना काममा व्यस्त छन् । बाहिर विद्यार्थीको भिड छ, तर बस्ने ठाउँ छैन ।
बस्नका लागि जम्मा दुईवटा थोत्रा बेन्च छन् । कोही तिनै बेन्चमा बसेर त केही लिएर उभिएरै खाजा खाइरहेछन् । कोही दिक्क मानेजस्ता देखिन्छन्, कोही भने एक–अर्कालाई हेरेर हाँस्दै छन् ।
कोही हातमा खाजा लिएर कता बसौं भनेर अलमलिइरहेका छन् । कोही खाजा दिन लाममा छन् । ‘एकछिन त हो, बस्ने ठाउँ छैन, उभिएरै खाम् र जाम्,’ एक छात्राले मुख खोलिन् ।
यो दृश्य हो, त्रिवि केन्द्रीय पुस्तकालय परिसरमा १ पुसदेखि सञ्चालनमा आएको ‘एरिस क्यान्टिन’को । यहाँ खाजा त छ, तर खाने–बस्ने ठाउँको पत्तो छैन ।
दिउँसोको साढे १ बजेको समय । त्रिवि केन्द्रीय पुस्तकालयको खाजाको समय हो यो । पुस्तकालयका कर्मचारी र अध्ययनको सिलसिलामा आएका विद्यार्थी खाजा खान निस्किने समय । सञ्चालनको दुई महिना बितिसक्दा पनि व्यवस्थापनमा ‘भद्रगोल’ क्यान्टिनलाई खाजा खानेको भिडले छोप्ने समय ।
एरिस क्यान्टिन खासगरी पुस्तकालयमा आउने विद्यार्थी र यहाँ कार्यरत कर्मचारीका लागि चलाइएको हो । त्रिवि परिसरका अन्य क्यान्टिनमा भन्दा यहाँ सहुलियतमा खाजा पाइन्छ । पुस्तकालय र क्यान्टिनको सम्झौता त्यस्तै छ ।
खाजाको मूल्यमा लगाम कसेको पुस्तकालयले यसको गुणस्तर र व्यवस्थापनमा भने आँखा चिम्लिएको देखिन्छ । पुस्तकालयले सम्झौता गर्दा बस्ने ठाउँसँगै केही कुर्सी वा बेन्चको व्यवस्था मिलाइदिने बचन दिएको बताउँछन्, क्यान्टिन सञ्चालक जीवन शाही ।
‘ग्राहकहरु बस्ने ट्रस्ट एउटा मात्र छ । पुस्तकालयले राम्रो बस्ने ठाउँ बनाइदिन्छु भनेको छ तर अहिलेसम्म बनाएको छैन,’ उनी भन्छन्, ‘कति विद्यार्थी त बस्ने ठाउँ नभएर फर्केर जान्छन् ।’
‘बस्ने ठाउँको अभावले मलाई पनि अरु कुराहरु म्यानेज गर्न गाह्रो भइरहेको छ,’ शाही थप्छन्, ‘भाँडा माझ्ने ठाउँ पनि खै कहिले बनाइदिन्छ ।’
पुस्तकालयका उप–प्रमुख पूर्णमान श्रेष्ठ क्यान्टिनलाई भाँडा धुने पानी दिने, केही कुर्सी र बस्ने ठाउँ बनाइदिने कुरा भएको स्विकार्छन् । ‘२५÷२६ ओटा काठको कुर्सी दिने भनेका छौँ,’ उनी भन्छन्, ‘तर अहिले दिएका छैनौँ ।’
अरु क्यान्टिनको तुलनामा सस्तोमा खाजा खान पाएकोमा खुसी छन्, विद्यार्थीहरु । र, बस्ने ठाउँको अभावका कारण निराश उत्तिकै पनि ।
आशिष मुखिया भौतिकशास्त्र केन्द्रीय विभागमा अध्ययनरत छन् । सस्तोमा खाजा खान पाएकोमा खुसी भए पनि बस्ने ठाउँको कुरा गर्दा मुख बिगार्छन् उनी । ‘खाजा र खाना सस्तो छ, तर बस्ने ठाउँ छैन,’ उनी भन्छन् ।
अर्का विद्यार्थी महेश अर्यालको पनि उही गुनासो छ । उनी भन्छन्, ‘सबै विद्यार्थीसँग पैसा हुँदैन, थोरै पैसामा पनि खाजा पाइन्छ, तर बस्ने ठाउँको लागि पालो कुर्नुपर्छ ।’
विद्यार्थी मात्र नभई पुस्तकालयमा आउने आगन्तुकसमेत क्यान्टिनमा सहुलियत दरमा खाजा पाइए पनि बस्ने ठाउँको अभावले समस्या भएको गुनासो गर्छन् ।
उपप्रमुख श्रेष्ठ भने अहिले क्यान्टिनमा त्यति समस्या नभएको जिकिर गर्छन् । ‘क्यान्टिनलाई खासै समस्या छैन,’ उनी भन्छन्, ‘हामीले बस्ने ठाउँ बनाइदिन्छौँ भनेका छौँ, बरु क्यान्टिनले नै सम्झौतामा भनेको आइटम पुर्याइरहेको छैन ।’
क्यान्टिन सञ्चालक शाही भने पुस्तकालयले सम्झौताको एउटा पक्ष मात्र हेरिरहेको आरोप लगाउँछन् । ‘पुस्तकालयले सम्झौताअनुसारको सबै कुरा खोज्छ, तर बस्ने ठाउँ बनाउनमा भने त्यति चासो देखाउँदैन,’ उनी थप्छन्, ‘पुस्तकालयले भनेको भन्दा बढी आइटम पुर्याइरहेका छौँ ।’
व्यवस्थापनको सबालमा शाही भन्छन्, ‘क्यान्टिन खोलेको भर्खर दुई महिना र केही दिन भयो, त्यसैले सबै कुराको व्यवस्थापन भएको छैन । अब छिट्टै हुन्छ ।’
नेपालको सबैभन्दा ठूलो पुस्तकालय हो, त्रिवि पुस्तकालय । यहाँ नेपाली मात्र नभई विश्वका विभिन्न देशबाट अनुसन्धाता, पत्रकार, साहित्यकार र पठनपाठनमा रुचि भएकाहरु आउने गर्छन् । पुस्तकालयसँगै जोडिएको क्यान्टिनको यो हालतले विद्यार्थीलाई असहज मात्र गराएको छैन, देशकै इज्जतमा समेत सबाल तेर्स्याएको छ ।
२०७२ वैशाख १२ को भूकम्पपछि भद्रगोल भएको पुस्तकालय विस्तारै सुधार हुँदै गर्दा आफ्नै मातहत सञ्चालनमा आएको क्यान्टिनको भद्रगोल अवस्थातर्फ पनि ध्यान दिनु जरुरी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।