जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् ।
उनलाई केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले दिल्लीको विमानस्थलमा स्वागत गरे । भ्रमणका क्रममा किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुका साथै जापानको इन्डो–प्यासिफिक रणनीति र उसको नयाँ प्रतिरक्षा प्रणालीका बारेमा पनि सम्बोधन गर्नेछन् ।
१५ वर्षअघि प्रधानमन्त्री शिन्जो आबेले आफ्नो दिल्ली भ्रमणका क्रममा इन्डो–प्यासिफिक सहकार्यका बारेमा पहिलोपटक बोलेका थिए ।
दुवै प्रधानमन्त्रीले दिल्लीस्थित बुद्ध जयन्ती पार्कमा सँगै पदयात्रा गरी गौतम बुद्धको पालाको गहिरो जरा भएको पूज्य वृक्ष बालबोधीको अवलोकन गर्ने बताइएको छ ।
भारत र जापानबीचको सम्बन्ध सन् २००० मा ‘विश्व साझेदारी’, सन् २००६ मा ’रणनीतिक तथा विश्व साझेदारी’ र सन् २०१४ मा ‘विशेष रणनीतिक तथा विश्व साझेदारी’ मा परिणत भएको थियो ।
दुवै देशले सन् २००६ देखि नियमितरूपमा वार्षिक शिखर सम्मेलन गर्दै आएका छन् । पछिल्लो वार्षिक शिखर सम्मेलन मार्च २०२२ मा नयाँ दिल्लीमा भएको थियो ।
किशिदाले आफ्नो ट्विटर अकाउन्टमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने जानकारी दिएका छन् । भारतीय विदेश मन्त्रालयले मार्च १० मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई नेताबीच पारस्परिक हितका द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल हुनेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।