कांग्रेस सधैं राजनीतिक स्थिरता र सम्बृद्धिका पक्षमा रहन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सदैव राजनीतिक स्थिरता र देशको सम्बृद्धिका पक्षमा उभिएको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने प्रस्तावका पक्षमा आफ्नो धारणा व्यक्त गर्दै संविधान प्रदत्त राजनीतिक व्यवस्था, राजनीतिक स्थिरता र देशको सम्बृद्धिका पक्षमा सधैँ उभिइरहने बाचा गरे । 

गत पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दा देशका प्रमुख एजेण्डाका बारेमा उल्लेख गरेको जानकारी गराउँदै सभापति देउवाले प्रतिनिधिसभाको पूर्ण कार्यकालको सुनिश्चितता र समग्रमा राजनीतिक स्थिरताका लागि प्रस्तावका पक्षमा मतदान गरेको बताए । 

उनले भने, ‘त्यसबेला पनि मैले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा र सार्थक कार्यान्वयन, मुलुकमा राजनीतिक स्थिरताको सुनिश्चितता हाम्रो आधारभूत आवश्यकता भएकोतर्फ सदनको ध्यान आकृष्ट गरेको थिएँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत नै मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छ भन्ने विषयमा जोड दिएको थिएँ र राजनीतिक स्थिरतालाई पूर्वशर्तका रुपमा उल्लेख गरेको थिएँ ।’

त्यतिबेला संसद्मा प्रमुख विपक्षी दलका रुपमा रहेर पनि प्रधानमन्त्रीको प्रस्तावका पक्षमा मतदान गरेको उल्लेख गर्दै उनले त्यो मतदान राजनीतिक स्थिरताका लागि भएको र आफूले प्रधानमन्त्रीको प्रस्तावमा समर्थन गर्दा संसद्को अधिवेशनको प्रारम्भमा नै अस्थिरताका आवाज उठ्न थालेको बताएको स्मरण गरे ।

उनले भने, ‘हामीले अपनाएको मिश्रित निर्वाचन प्रणालीले समावेशी चरित्रको समाज निर्माण गर्ने हाम्रो उद्देश्यलाई सार्थक तुल्याएको छ । यसले सबै लिङ्ग, वर्ग, जाति, समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । तर यो प्रणालीमा कुनै एकमात्र दलले प्रतिनिधिसभामा बहुमत ल्याउनसक्ने अवस्था प्रायःनहुने भएकाले  गठबन्धनको संस्कृतिलाई आत्मसात् गर्नुपर्ने हुन्छ ।’
 
राजनीतिक गठबन्धन आत्मकेन्द्रित, स्वार्थ प्रेरित, क्षणिक र अस्थिरता ल्याउने हुन नहुनेमा जोड दिँदै उहाँले देश र जनताका पक्षमा, संविधानको रक्षा गर्ने र देशमा स्थिरता, अमनचयन, शान्ति र विकासका लागि गठबन्धन केन्द्रित हुन आवश्यक रहेको उल्लेख गरे । 



सभापति देउवाले भने, ‘आजभन्दा २१ महिना पहिले प्रतिनिधिसभाको असंवैधानिक, अलोकतान्त्रिक र अस्वाभाविक विघटनबाट देश अस्थिरतामा जाने खतरा उत्पन्न भएको थियो । अप्रत्यासित तवरले विकसित त्यस राजनीतिक घटनाक्रमको बिचमा नेपाली कांग्रेससहित अन्य राजनीतिक दलको सहयोग र सहमतिमा म प्रधानमन्त्री नियुक्त भएको थिएँ ।’

उनले तत्कालीन अवस्थामा आफू संविधानको रक्षा र स्थिरताका लागि प्रधानमन्त्रीमा नियुक्त भएको बताए ।  संविधानको भावनाबमोजिम प्रतिनिधिसभालाई पूर्ण कार्यकाल कार्यसम्पादन गर्ने सुनिश्चितता गर्नु, स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा सम्पन्न गरी देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु तत्कालीन समयमा आफ्नो प्राथमिक जिम्मेवारी रहेको र त्यो पूरा गरेको उनको भनाइ छ ।



उक्त कार्यमा चुनौति र कठिनाईहरु भएपनि प्रतिनिधिसभा पूर्ण कार्यकाल कायम रहेको बताउँदै उनले स्थानीय तहको निर्वाचन समयमा सम्पन्न भएको, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए । देशले स्थिरता र संविधानसम्मत् यात्राको अनुभूति गरेको, तत्कालीन अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थिरता र संविधानको सफल कार्यान्वयनका साथै आर्थिक क्षेत्रमा पनि उल्लेखनीय कार्य भएको उनको भनाइ छ ।  

  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार १५:३९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया