प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् ।
मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच अनौपचारिक छलफल भइसकेको छ । उनले संसद्मा सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलले धेरै दललाई सरकारमा सहभागी गराउने प्रयत्न रहने बताए । सबै दललाई चित्त बुझाएर लैजान पनि उत्तिकै चुनौती रहेको उनको भनाइ छ ।
कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य दल सिट संख्याका आधारमा बाँडफाँट गर्न सहमत भइसकेका छैनन् । जसले गर्दा भागबन्डा टुंग्याउन सकस हुने देखिएको छ ।
प्रधानमन्त्री दाहालले कांग्रेसलाई ८, माओवादीलाई ५, रास्वपालाई ४, जसपा र एकीकृत समाजवादीलाई २–२, नागरिक उन्मुक्ति, जनमत र लोसपालाई १–१ र स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहमध्ये एकजनालाई मन्त्री बनाउने तयारी गरेका छन् ।
एकीकृत समाजवादीले गृह मन्त्रालयमा दाबी गरेको छ, तर माओवादी केन्द्र भने गृह आफैँ राख्ने अडानमा छ । कांग्रेसले गृह नपाए अर्थ मन्त्रालय नछाड्ने रणनीति लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।