सांसद भण्डारीको स्वास्थ्यमा सुधार, सामान्य आहार दिन थालियो

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । स्वास्थ्यमा सुधार आएसँगै उनलाई सामान्य आहार दिन सुरु गरिएको चिकित्सकलाई उद्धृत गर्दै दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए । 

‘स्वास्थ्यमा सुधार भइरहेको, कलमी गरेको छालाले पनि राम्रो प्रतिक्रिया दिएको र अनुहारको छाला राम्रो हुँदै गएको डाक्टरहरूले जानकारी दिनुभएको छ,’ उनले भने, ‘फिजियोथेरापी जारी राखिएको छ ।’ 

सांसद भण्डारीको जलन भएका ठाउँका छाला पनि राम्रो हुँदै गएकोले तत्काल शल्यक्रिया गर्नु नपर्ने चिकित्सकहरूले बताएका छन् । सांसद भण्डारी अरूको सहयोगबिना केही समय बस्न सक्छन् । केही दिनमा उनलाई हिँड्नका लागि प्रयास गराइने पनि चिकित्सकको तयारी छ ।

बुद्धनगरस्थित निवासमा गत ३ फागुनमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी घाइते भएका थिए । सुरुमा कीर्तिपुरस्थित अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि भारत लगिएको थियो ।

४ फागुनदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको उपचार भइरहेको छ । खाना पकाउने ग्यास लिक हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए ।  

हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा गत ४ फागुनमा निधन भएको थियो । 





  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार ८:५८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया