सर्वोच्चको आदेश : नेपाली-विदेशीबीचको समलिङ्गी विवाह दर्ता गरेर भिसा दिनू

सर्वोच्च अदालतले नेपालीसँग विवाह गरेका विदेशी समलिङ्गीलाई नेपालमा बस्नका लागि गैरपर्यटक भिसा दिन आदेश दिएको छ । 

नेपाली समलिङ्गी पुरुष अधिप पखरेलसँग विवाह गरेका जर्मन समलिङ्गी तोबायस भोल्जलाई गैरपर्यटक (नाता)  भिसा दिन अस्वीकार गरेको अध्यागमन विभागका नाममा न्यायाधीश हरि फुयाल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।    

गत साउनमा भोल्जे यस्तो भिसाका लागि आवेदन दिए पनि अध्यागमनले उनलाई भिसा दिएको थिएन । साथै, पोखरेले आफू बस्ने काठमाडौं महानगरपालिका–११ मा विवाह दर्ता गर्न निवेदन दिएका थिए । तर वडा कार्यालयले उनको विवाह दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसपछि उनीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए ।

‘कानुनमा पुरुष र महिला मात्र जनाउने गरी कानुनमा दाम्पत्य तथा पारिवारिक सम्बन्धको परिभाषा गरिनुले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई विवाह तथा परिवार सम्बन्धी हकबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको देखिन्छ,’ सर्वोच्चले गत पुस ४ मा गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘तसर्थ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई विमुख गर्ने गरी लैङ्गिक सापेक्ष शब्द प्रयोग भएकोमा उक्त कानुनहरूमा लैङ्गिक समावेशी शब्दावली प्रयोग गरी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको पहिचान तथा हक अधिकारलाई समेट्न तथा समावेशिताको थप पहल गर्न सरकारले विधायिकी प्रयास सुरु गर्नुपर्ने विषय ध्यानाकर्षण योग्य रहेको देखिन्छ ।’  

आदेशमा नेपालको संविधानले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूहका नागरिकलाई कुनै पनि हक अधिकारको उपभोग तथा प्रचलनमा लैङ्गिक आधारमा भेदभाव गरेको देखिँदैन भनिएको छ ।​​   





  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार ९:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया