नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
१८ असोज वि.सं २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए ।
१९ माघ २०६१ मा दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैं मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए ।
कोइरालाकै नेतृत्वमा ११ वैशाख २०६३ मा राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरूप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएको थियो । आन्दोलन सफल भएपछि उनी चौथोपटक प्रधानमन्त्री बनेका थिए । पुनःस्थापित प्रतिनिधिसभाले ४ जेठ २०६३ मा राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा सीमित गरेको थियो ।
कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उनकै नेतृत्वमा ६ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उनका दाजु बिपी कोइरालाको सपना २८ चैत २०६४ मा पूरा भएको थियो ।
पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ । पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्र द्वन्द्वरत नेकपा माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो ।
चारपटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेका हुन् । उनकै नेतृत्वमा १५ जेठ २०६५ मा नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो ।
कोइरालाको ७ चैत २०६६ मा निधन भएको थियो । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १३ औँ स्मृति दिवस मनाउँदै छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।