राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले युवाहरु बोल्न खोजेका बेलामा प्रहरीहरुले मुख थुनेको विषयमा सरकारको जवाफ मागेकी छन् । उनले मंगलबार केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी हुन् ।
मंगलबार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा नयाँ बानेश्वरमा तीन जना युवाले प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका थिए । त्यस क्रममा प्रहरीले युवाहरुको मुख थुनेर बोल्न नदिएपछि उनले राष्ट्रिय सभामा यो विषय राखेकी हुन् ।
सोही विषयमा बोल्दै आज सांसद पौड्यालले यस बारेमा सरकारको जवाफ मागिन् । ‘हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवाहरु बोल्न खोजेको र केही प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको छ। लछारपछार पारिरहेको तस्बिर देखिरहेका छौँ, ’ उनले भनिन्, ‘यी युवाहरुले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ। प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ की मिल्दैन? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन? यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र जवाफ माग गर्दछु।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।