रंगशाला निर्माणका लागि मधेस सरकारले सय करोडसम्म लगानी गर्ने

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि प्रदेश सरकारले ५० देखि १ सय करोडसम्म लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । 

बुधबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौलस्थित निर्माणाधिन रंगशालाको निरीक्षण गर्न पुगेका मुख्यमन्त्री यादवले जनकपुरधाम प्रदेशको राजधानी रहेको हिसाबले पनि यहाँ अन्तर्राष्ट्रिय रंगशाला आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आएको बेला  जनकपुरधामको विकासका लागि भारत सरकारले १ सय करोड दिने घोषणा गरेका थिए । तर, त्यो पैसाको अहिलेसम्म कुनै काम भएको छैन । मभन्दा पहिलाको सरकारले धर्मशाला बनाउने योजना अगाडि बढाएपनि काम सुरु हुन सकेन । त्यसपछि मैले त्यो १ सय करोड रुपैयाँ अन्तराष्ट्रिय रंगशाला बनाउनकै लागि खर्च गर्ने सोच बनाए । बाँकी ५० अथवा १ सय करोड लगानी गर्नुपरे मधेस सरकारले पनि गर्छ ।’

उनले जनकपुरधाममा निर्माणाधिन रामजानकी अन्तर्राष्ट्रिय रंगशालालाई पूर्णता दिन जति लगानी गर्नुपरे पनि प्रदेश सरकार पछाडि नहट्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । उनले खेलकुदबाट नै खेलाडीले देशलाई चिनाउने काम गर्ने भएकोले खेलकुदमा लगानी गर्न सरकार सदैव तयार रहेको बताए । मुख्यमन्त्री यादवले ११औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना जनकपुरधाममै हुने लिखित सम्झौतासमेत भइसकेको बताए । 

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गसँग गरेको छलफलमा ११औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना जनकपुरधाममा गर्नका लागि एक कार्यदल समेत गठन भएको बताए । 



खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा मधेसका आठवटै जिल्लाका प्रमुख र पालिकाका प्रतिनिधी सदस्य रहने गरि सो कार्यदल बनाइएको उनले बताए । राष्ट्रिय खेलकुद परिषद् राखेपले २०७४ सालमा तीन वर्षभित्र जनकपुरधाममा सुविधासम्पन्न रंगशाला बनाउने भन्दै रंगशाला निर्माणका लागि लक्ष्मण मन्दिरको १७ बिघा जग्गा ३० वर्षका लागि गुठी संस्थानसँग भाडामा लिएको थियो ।



राखेपले त्यतिबेला उक्त जग्गामा फुटबल स्टेडियम, क्रिकेट स्टेडियम र हक्की स्टेडियमका साथै बहुउद्देश्यीय इन्डोर कभर्डहल, कबड्डी, खोखो र कुस्तीको ट्रेनिङ सेन्टर निर्माण गर्ने घोषणा गरेपनि काम भने केही हुन सकेको छैन ।

प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरको पहल, प्रदेशसभा सदस्य शेषनारायण यादवको उत्सुकता र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहको सहकार्यमा मुख्यमन्त्री यादवले बुधबार रंगशाला निर्माणस्थलको निरीक्षण गरेका छन् । 

रंगशाला निर्माणका अभियानीहरु दिनेश पुर्वे, गुड्डु पाण्डे, सरोज मिश्र, आकाश पाण्डे, क्रिकेटका पूर्वप्रशिक्षक नविन सिंहलगायतकाले अहिलेसम्मको कार्यप्रगती बारे व्रिफिङ्ग गरेका थिए ।
 

  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार १५:४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया