लेखाका कर्मचारी र कार्यालय सहयोगीले शिक्षकहरूको हाजिरी काटेको आरोप

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा कार्यरत लेखा शाखाका एक कर्मचारी र कार्यालय सहयोगीले पेपर कोर्ष कन्ट्रयाक्ट शिक्षकहरूको हाजिरी काटेको आरोप लगाइएको छ ।
 
विश्वविद्यालयको लेखा शाखामा कार्यरत कर्मचरी रजनीश कुमार यादव र कार्यालय सहयोगी राजेश झाले मिलेर शिक्षकहरूको हाजिरी काटेको आरोप लगाइएको हो । 


राजर्षि जनक विश्वविद्यालय पेपर कोर्ष कन्ट्रयाक्ट शिक्षक संघले बुधबार एक विज्ञप्ती जारी गर्दै दुबैजनाले मिलेर पेपर कोर्ष कन्ट्रयाक्ट शिक्षकहरुको फागुन २१ देखि चैत १७ गतेसम्मको हाजिरी काटेको आरोप लगाएको छ । 

पेपर कोर्ष कन्ट्रायक्ट शिक्षक संघका सचिव रवि कुमार राजले विश्वविद्यालयमा करारमा कार्यरत लेखाका कर्मचारी रजनीश कुमार यादव विगत देखि नै विवादास्पद रहेको आरोप लगाएका छन् । 

उनले रजनीशको गतिविधि विगतदेखि नै शंकास्पद देखिएकोले पूर्वरजिष्ट्रार महेन्द्र प्रसाद यादवले उनलाई स्पष्टिरणसमेत सोधेको बताए । पूर्वक्याम्पस प्रमुख डा.सरोज कुमार ठाकुरको उपस्थितिमा रजनीशले प्राध्यापक संघका सभापति र माइक्रोवायोलोजिका पूर्वशिक्षकसमेतलाई हातपात र गालीगलौज गरेको आरोप लगाइएको छ ।

 

विज्ञप्तीमा भनिएको छ, ‘विश्वविद्यालय क्याम्पसका पूर्वलेखा प्रमुख वशिष्ट लाल कर्णलाई लेखा शाखामै कुर्सी उठाएर क्याम्पस प्रमुख विनोद कुमार कर्णको अगाडी रजनीशले हातपात गरेकोले उनलाई क्याम्पस प्रमुख कर्णले लेखा शाखाबाट लाइब्रेरिमा सरुवा गरेका थिए । तर, धाकधम्की देखाएर उनी पुनः पुरानै ठाउँमा फर्किएका थिए ।’



विगतमा पनि रजनीशले कर्मचारी संघको बैठक चलिरहेको बेला संघका उपसभापतिलाई हातपात गरेको, आफू बस्ने लेखा शाखामा सीसीटिभी जडान गर्न नदिइ सीसीटिभीको लिंक आफ्नो मोवाइलमा राखेर विद्यार्थीहरुलाई शंकास्पद दृष्टिकोणले हेर्दै आएको गुनासो विज्ञप्तिमा उल्लेख छ ।
 
रजनीशले सहायक क्याम्पस प्रमुखको अगाडी भौतिक शास्त्रका शिक्षकलाई तलव नदिने भन्दै हातपातसमेत गरेको, कार्यालय समय पश्चात पनि क्याम्पसमा प्रवेश गरेर शंकास्पद कार्यहरु गर्दै आएको पेपर कोर्ष कन्ट्रायक्ट शिक्षक संघका सचिव रवि कुमार राजले आरोप लगाए ।
 
विज्ञप्तीमा भनिएको छ, ‘क्याम्पस प्रमुख कर्ण विगत १० दिनदेखि क्याम्पसमा उपस्थित नरहेपनि सम्पुर्ण स्थायी, करार तथा पेपर कन्ट्रयाक्टका शिक्षकहरुले स्वस्फूर्त कक्षाहरु लिइरहेका थिए । 

क्याम्पसको गतिविधिहरु सञ्चालन भइरहेको अवस्थालाई विगार्नका लागि रजनिश चैत ५ गते राति क्याम्पस हाताभित्र प्रवेश गरेर उच्छृङखल गतिविधि गर्दै गार्डसँग जर्बजस्ति पेपर कन्ट्रायक्ट शिक्षकहरुको हाजिरी रजिष्टर मगाएर सीसीटिभीको पहुँचमा नरहेको आफ्नो कार्यकक्षमा लगि जथाभावी शिक्षकहरुको हाजिरी काटेका थिए । सोहि राती प्रशासन शाखा समेत खोल्न लगाएर सो शाखामा अवस्थित स्थायी तथा करारका शिक्षकहरुको हाजिरी रजिष्टरमा पनि स्थायीमा कार्यरत प्रा. डा. विद्या सागर वर्माको चैत १० गतेसम्मको हाजिरी काटिएको थियो ।’



चैत ६ गते शिक्षकहरुले यस्तो अवस्था देखेर सहायक क्याम्पस प्रमुखलाई फोनमार्फत विश्वविद्यालयको यर्थात जानकारी गराएको र सोही सम्बन्धमा विचार विमर्श भइरहेको बेलामा दिउँसो करीव ३ बजे रजनिशले पेपर कन्ट्रयाक्टका शिक्षकहरुलाई हातपात गर्न खोजेको आरोपसमेत लगाइएको छ । 

शिक्षकहरुले यथाशिघ्र सत्य तथ्य पत्ता लगाई क्याम्पसको वातावरण विगार्न अग्रसर रजनिश यादवलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । दोषीऊपर कारवाही नगरिए पेपर कन्ट्रयाक्टमा कार्यरत शिक्षकहरु कक्षा स्थगित गरी विरोधका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ । 

यसैबिच, राजर्षि जनक विश्वविद्यालयका कर्मचारी संघले पनि शिक्षकहरुको हाजिरी काटेको सम्बन्धमा सीसीटिभी क्यामेरामा रेकर्ड भएको दोषी कर्मचारीलाई कडा कारवाही गर्न माग गरेको छ । 

कर्मचारी संघका कार्यवाहक सभापति प्रसान्त कुमार झाले बुधबार एक विज्ञप्ती जारी गर्दै विश्वविद्यालय क्याम्पसमा कार्यरत कर्मचारीहरुमाथि विना आधार आरोप लगाई गाली–गलौज, हातपात जस्ता अभद्र शैलीमा प्रस्तुत भएको व्यवहारप्रति निन्दा गरेका छन् । 

संघले विश्वविद्यालयको नियमावली बमोजिम २४ घण्टा भित्र कडा कारवाही गर्न क्याम्पस प्रमुखलाई पत्राचार गरेको छ ।

दोषीउपर कारवाही नभए विश्वविद्यालय अन्तर्गतको निकायहरुमा कार्यरत कर्मचारीलाई बिहीबारदेखि केन्द्रीय कार्यालयमा उपस्थित भई धर्ना दिन आह्वानसमेत गरिएको छ ।

  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार १८:१६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया