माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माओवादी गण्डकी प्रदेश संसदीय दललाई निर्देशन दिएका छन् ।
केन्द्रको निर्णय पर्खिएर बसेको माओवादी गण्डकी प्रदेश संसदीय दलले प्रचण्डको निर्देशनपछि शुक्रबारका लागि बैठक बोलाएको छ । बिहीबार नै बैठक बसेर निर्णय गर्ने तयारी गरेको माओवादी संसदीय दलले सांसदहरु पोखरा बाहिर भएकाले बैठक शुक्रबारका लागि सारेको हो ।
एमाले लगायतका दलको समर्थनमा पुस १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि गण्डकी प्रदेशमा एमलेका नेता खगराज अधिकारी मुख्यमन्त्री बनेका थिए । प्रचण्डले सोमबार दोस्रोपटक विश्वासको मत लिएसँगै प्रदेश सरकार पुनर्गठनको कसरत भएको हो ।
प्रधानमन्त्री प्रचण्डले चुनावकै बेला कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए । हाल गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री बनाउन उनले केन्द्रमा शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।