\
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका डेढ दर्जन बढी आंगिक क्याम्पसमा अझै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन बाँकी छ । विद्यार्थी संगठनबीचको विवादका कारण यी क्याम्पसमा निर्धारित समयमै निर्वाचन हुन नसकेको हो ।
त्रिविले आफूअन्तर्गतका सम्पूर्ण आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा ५ चैतसम्म निर्वाचन गरिसक्न निर्देशन दिएको थियो । विश्वविद्यालयअन्तर्गत ६२ वटा आंगिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् ।
४४ वटा आंगिक र सम्बन्धन प्राप्तमध्ये अधिकांश क्याम्पसमा निर्वाचन सम्पन्न भइसकेको छ । स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा पहिलोपटक निर्वाचन तोकिएको मितिले एक महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्थाछ । यसकारण हाल निर्वाचन स्थगित भएका क्याम्पसमा आगामी ५ वैशाखभित्र निर्वाचन गर्नैपर्छ ।
निर्वाचन स्थगित भएकामध्ये अधिकांशमा विद्यार्थी भर्नामा अनियमितता भएको दाबी गर्दै तालाबन्दी गरिएको छ । काठमाडौंको नेपाल कमर्स क्याम्पस मीनभवनमा भने आज चुनाव हुँदैछ ।
त्यस्तै, पोखरा वन क्याम्पसमा आइतबार, आयुर्वेद क्याम्पस र कृषि क्याम्पस चितवनमा १७ चैतमा तथा धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा १८ चैतमा चुनाव गर्ने तयारी छ ।
पोखराको पृथ्वीनारायण क्याम्पसको चुनाव अदालतको आदेशका कारण रोकिएको छ । पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, नर्सिङ कलेज, धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा विद्यार्थीको तालाबन्दीका कारण चुनाव रोकिएको छ । काठमाडौं उपत्यकाभित्र रत्नराज्यलक्ष्मी, त्रिचन्द्र, अमृत साइन्स, पाटन संयुक्त, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमा पनि ताला लागेको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले तालाबन्दी भएका क्याम्पसमा ताला खुलाउने र निर्वाचन गर्ने विषयमा पहल भइरहेको बताए । अनेरास्ववियुका अध्यक्ष समिक बडालले पनि आफूहरूले निर्वाचन जित्ने पक्का भएका क्याम्पसमा अन्य संगठनले ताला लगाएको आरोप लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।