नगरवासीलाई फोहोरको सास्ती, नगरप्रमुखलाई सम्मानको मस्ती !

शुक्रबार जनकपुरधामस्थित उद्योग वाणिज्य संघको सभाकक्षमा लायन्स क्लब ३२५ ‘एफ’को प्रथम जिल्लास्तरीय वार्षिक सभाको पहिलो दिनको उद्घाटन सत्र चलिरहँदा विभिन्न ओहोदाका विशिष्ट व्यक्तिहरू सहभागी थिए । 

कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव, प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतो, प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, उद्योगपति एवं लायन राजेन्द्र खेतानलगायतका अन्य धेरै विशिष्ट व्यक्ति सहभागी थिए । कार्यक्रममा देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा पुगेका लायनहरूको सहभागिताले पनि बाक्लै उपस्थिति देखिन्थ्यो ।  

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले आफ्नो नगरको विकासका लागि राम्रो काम गरिरहेको भन्दै उनलाई सम्मानसमेत गरियो । 

नगरप्रमुख साहले नगरको चौतर्फी विकासका लागि अतुलनीय योगदान पुर्याएको, नगरको शिक्षा, सरसफाइ तथा स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको, यहाँका नागरिकको सर्वांगीण विकासमा अतुलनीय योगदान पुर्याएकोलगायत विषयमा सहभागीले मुक्तकण्ठले प्रशंसा गरे ।
  
उद्घाटनको भोलिपल्ट अर्थात् शनिबार लायन्स क्वब ३२५ ‘एफ’ ले नगरभित्र प्रभातफेरी निकाल्ने योजना बनाएको थियोे । सोहीअनुरुप पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहान बिहानै बजार क्षेत्रमा प्रभातफेरी निकालियो । प्रभातफेरीमा देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा जनकपुरधाम आएका लायनहरूको बाक्लो उपस्थिति थियो । 

तर, नगरको दृष्य भने बेग्लै देखियो । प्रभातफेरीमा सहभागीहरू मुख्य बजारकै सडकमा बीचबाट हिँडिरहँदा सडकको छेउमा चारैतिर फोहोरको थुप्रो जताततै फालिएको थियो । बजारको पसलहरूबाट निस्केका फोहोरजन्य सामग्री सडक छेउमै फालिएका थिए । प्रभातफेरीमा सहभागी हुन देशका अन्य ठाउँबाट जनकपुरधाम आएका सहभागीहरू नाक थुनेर जसोतसो हिँडिरहेको देखियो । 

सबैले भनिरहेका थिए, ‘छि...! कस्तो दुर्गन्धित छ हौ जनकपुरको वातावरण...! उपमहानगरपालिका सुतेको छ कि क्या हो ?’



एकातर्फ नगरको चौतर्फी विकासमा अतुलनीय योगदान पुर्याएको भन्दै शुक्रबार सोही कार्यक्रममा सम्मान ग्रहण गरेका नगरप्रमुख मनोज साहप्रति उनीहरू नकारात्मक देखिन्थे । धार्मिक नगरीको रुपमा विश्वप्रख्यात जनकपुरधामको वास्तविक चित्र भने बेग्लै रहेको र स्थानीय सरकारले यसतर्फ ध्यान नपुर्याएको भन्दै बाहिरी पर्यटकले गुनासो पोखे । 

स्थानीय सरकारले नगरमा सामाजिक क्षेत्रमा सक्रिय रहेका विभिन्न संघसंस्थासँग सहकार्य गरी सरसफाइमा ध्यान पुर्याएर पर्यटक आवागमनलाई बढाउन सके यहाँको चौतर्फी विकास सम्भव रहेको प्रभातफेरीमा सहभागी अधिकांशको धारणा थियो ।
 
निर्वाचित भएपछि नगरप्रमुख साहको यस्तो थियो प्रतिबद्धता 



जनकपुरधाम उपमहानगरपलिकाको नगरप्रमुखमा निर्वाचित भइसकेपछि मेयर मनोजकुमार साहले ‘हाम्रो जनकपुरधामः राम्रो जनकपुरधाम, सुन्दर जनकपुरधाम र सफा जनकपुरधाम’ बनाउने प्रतिबद्धताका साथ आफू अगाडि बढ्ने बताएका थिए । 

उनले जनकपुरधाम उपमहानगरपालिकाभित्र फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिल साइट निर्माण तत्काल सुरु गराउने, फोहोर व्यवस्थापनका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गरिने, फोहोर व्यवस्थापन कार्यमा आधुनिक तथा वैज्ञानिक प्रणाली अपनाई यसबाट घरेलु कार्यमा प्रयोग हुने ऊर्जा तथा कम्पोस्ट मल उत्पादन गरी कृषिकार्यमा जैविक प्रविधिको प्रोत्साहन तथा जनस्वास्थ्यमा पर्ने नकारात्मक असरको जोखिम न्यूनीकरण गर्ने, आवश्यकताअनुसार सामुदायिक संस्था एवं निजीक्षेत्रको सहभागितामा समेत फोहोर व्यवस्थापनमा तीव्रता ल्याइने दाबी गरेका थिए । 

नगरप्रमुख साहले जनकपुरधाम उपमहागरपालिकाका प्रत्येक वडामा यथासम्भव हुनेगरी सुरक्षित एवं साधन सम्पन्न फोहोर संकलन केन्द्र स्थापना तथा सञ्चालन गरिने, फोहोर संकलन केन्द्रबाट तत्काल फोहोर मैला ल्यान्डफिल साइटसम्म पुर्याउने व्यवस्था गराइने, सडकपेटी व्यवस्थापन गरी व्यवसायी तथा पर्यटकमैत्री बनाइने, ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा साँस्कृतिक सम्पदाको मर्मत सम्भार, नियमित रेखदेख तथा थप सौन्दर्यीकरण गरिनेलगायतका प्रतिबद्धता पनि गरेका थिए ।
 
साथै जनकपुरधामको आर्थिक गतिविधिका एउटा प्रमुख स्रोतका रूपमा पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने, जनकपुरधामस्थित ऐतिहासिक र धार्मिक महत्वका बाह्रबिघा (रंगभूमि) मैदानलाई स्वच्छ, सफा, हराभरा बनाइने समेत उनले प्रतिबद्धता जनाएका थिए ।  

त्यस्तै, विभिन्न पोखरीको सरसफाइ गरी डिलको सौन्दर्यीकरण मार्फत रमणीय ठाउँका रूपमा विकास गरिने, उपमहानगर क्षेत्रभित्र सुरक्षा प्रबन्धनका लागि आवश्यक ठाउँमा चौबिसै घण्टा काम गर्नेगरी सिसिटिभी क्यामरा जडान गराइने तथा सबै वडालाई फ्री इन्टरनेट वाइफाइ क्षेत्र बनाइने मनोजको प्रतिबद्धता थियो । 

जनकपुरधाम विमानस्थलको स्तरोन्नतिका लागि सम्बद्ध निकायहरूसँग गम्भीर समन्वय गरिने तथा पर्यटकीय सहर वा क्षेत्रसँगजोड्न विमानसेवा सञ्चालन गराउन पहल गरिने, उपमहानगलाई महानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक पूर्वाधारका रूपमा आउटर रिङरोडसँगै अन्य भौतिक तथा मानवीय पूर्वाधार तयारीमा आरम्भबाटै जुट्ने प्रतिबद्धता पनि उनले जनाएका थिए । 

उपमहानगरको कामकाज पारदर्शी बनाउन उपमहानगरपालिकाद्वारा गरिने कामबारे नियमित जानकारी प्रदान गरिने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई उपमहानगरपालिका र मातहतका कार्यालयमा प्रशासन यन्त्रलाई चुस्तदुरुस्त बनाई सेवा प्रवाहमा सरलता एवम् सहजता ल्याइनुका साथै कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन, उजुरी र गुनासा सुन्ने तथा तत्काल समाधान गर्ने हटलाइनको व्यवस्था गरिने उनले बताएका थिए । 

जनकपुरधाम उपमहानगरपालिकाबाट लामखुट्टे नियन्त्रण गर्न दीर्घकालीन नीति बनाई कार्यान्वयन गर्ने, दलित, जनजाति, उत्पीडित तथा सीमान्तकृत समुदायको पहिचान गरी उनीहरूको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक पहुँच बढाई आत्मनिर्भर बनाउन कार्ययोजना बनाइने उनको प्रतिबद्धता थियो ।
 
उपमहानगरपालिका क्षेत्रभित्र रहेका ग्रामीण वडाहरूमा किसानलाई कृषिउपज बढाउनका लागि आवश्यक मलखाद, बिउबिजन, सिँचाइ सेवा, कृषिउपकरण र कृषिउपजको बजार व्यवस्थापन गरिने तथा कृषकका लागि चाहिने प्रविधिजन्य ज्ञान विस्तारका लागि कार्यक्रम ल्याइने, आधुनिक फलमन्डी ९फलबजार० निर्माण गराई फलफूलको व्यापार प्रवर्द्धन गरिने तथा फल व्यवसायीका लागि फलफूल आयातमा विशेष सहुलियतको व्यवस्था गरिनेलगायतका प्रतिबद्धताहरु उनले जनाएका थिए । 

मेयर मनोजले अतिविपन्न नागरिकहरूको पहिचान गरी आवासबाट वञ्चित भएका व्यक्तिहरूलाई घर बनाई हस्तान्तरण गरिने, २५ वटै वडासम्म सडक सञ्जाल तयार पारी सार्वजनिक परिवहनको व्यवस्था गरिने, उपमहानगरपालिकाभित्र अत्याधुनिक बस स्ट्यान्ड निर्माण गर्न पहल गरिने, जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापनका साथै सेमीबोडर्स लगायतका विशेष कार्यक्रमहरू ल्याइनुका साथै स्वास्थ्य संस्थाहरूको गुणात्मक तथा संरचनात्मक विकास गरिने कुरामाथि आफ्नो जोड रहने बताएका थिए । 

तर, उनका यी दर्जनौं बाचाहरू मध्ये उनले अहिलेसम्म कुन–कुन काम गरेका छन् त्यो मूल्यांकन भने नगरबासीले पक्कै गरिरहेका होलान् ।

  • प्रकाशित मिति : चैत ११, २०७९ शनिबार १७:५७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया